Hamro Sanchar

रास्वपाले तत्काल सरकार नछाड्ने, नयाँ गठबन्धनमा पनि सहभागी नहुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १९ गते


Advertisement

काठमाडौँ, असार १८- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नयाँ सरकार बन्ने संवैधानिक प्रक्रिया सुरु भएपछि सरकारबाट बाहिरिने जनाएको छ । सत्ता सहकार्य गर्ने कांग्रेस-एमालेको सहमति मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको हो ।

रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘संवैधानिक रूपमा नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढेपछि हामी सरकारबाट बाहिरिन्छौँ ।’ नयाँ गठबन्धनमा रास्वपा सहभागी हुन्छ भन्ने प्रश्नमा बुर्लाकोटीले भने, ‘एमाले-कांग्रेस सरकारमा सहभागी हुँदैनौँ ।’

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछानेसहित ४ जना मन्त्री छन् ।

एमाले-कांग्रेसले भने राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाइने दाबी गरेका छन् । सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।


प्रतिकृया दिनुहोस्