काठमाडौं, असार ७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको दोस्रो वर्षगाँठका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय च:मतिमा चियापान गरेको छ ।
चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू सहभागी छन् ।
चियापानमा सबै क्रियाशील राजनीतिक दल, संघीय सांसद, सुरक्षा अंगका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगहरूलाई आमन्त्रण गरेको पार्टीले जनाएको छ ।
चियापन शुक्रबार अपराह्न ५ बजेसम्म चल्नेछ । चियापानका अवसरमा रास्वपाले उद्यमशीलता प्रवर्द्धन गर्ने ध्येयले प्रदर्शनी स्टल पनि राखेको छ । प्रधानमन्त्रीसहित मन्त्रीहरूले ती प्रदर्शनी स्थलको अवलोकन गरेका थिए ।
रास्वपा २०७९ असार ७ गते गठन भएको थियो । निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको हो ।