
रुकुम पश्चिम, असार ६- विद्यालयको पोशाक नलगाएको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा अध्ययनरत ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट भएको हो ।
नगरपालिकाबाट करारमा नियुक्त विद्यालय नर्स शर्मिला खड्काले ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन् ।
विद्यार्थीलाई चउरमा लाइन लगाएर खड्काले लठ्ठीले कुटेकी विद्यार्थीका अभिभावकले बताएका छन् । विद्यालय पोशाक नलगाएको भन्दै खड्काले निलडाम हुने गरी कुटेको बताइएको छ ।
अभिभावकका अनुसार सुरुमा उक्त घटनाबारे बताए विद्यार्थीलाई विद्यालयबाट निकालीदिने चेतावनी दिइएको थियो । त्यही कारण तत्काल घटनाबाहिर आउन सकेन ।
केही दिनपछि अभिभावले छोराछोरीको शरीरमा घाउ, चोट देखेपछि सोधपुछ गर्नेक्रममा उक्त घटना बाहिर आएको हो ।
प्रधानाध्यापक शंकर रावलले विद्यार्थीमाथि कुटपिट भएको घटना स्वीकार्दै विद्यार्थी र अभिभावकसँग समेत माफी मागेको बताए । उनले विद्यार्थीको सरसफाइ हेर्ने जिम्मा नर्स खड्कालाई दिइएकाले हात, नङको सफाइ जाँच गर्ने क्रममा आवेगमा आएर सामान्य कुटपिट भएको बताए ।