Hamro Sanchar

साउदी अरबमा अत्यधिक गर्मी : साढे ५ सयभन्दा धेरै हजयात्रीको मृत्यु

एजेन्सी प्रकाशित : २०८१ असार, ६ गते


Advertisement

काठमाडौं, असार ५- साउदी अरबमा अत्यधिक गर्मीका कारण साढे पाँच सय जनाभन्दा धेरै हजयात्रीको मृत्यु भएको छ ।

विश्वभरबाट हजयात्रामा गएका लाखौँ हजयात्री गर्मीले समस्यामा परेका छन् । मंगलबारसम्म पाँच सय ५५ जनाको ज्यान गएको र दुई हजार जना गम्भीर बिरामी परेकाले उपचार भइरहेको साउदी सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार संस्था एएफपीका अनुसार ज्यान गुमाउनेमध्ये तीन सय २० जना इजिप्टका नागरिक रहेका छन् । यस्तै इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले तीर्थयात्रामा गएका आफ्ना एक सय ४४ जनाको ज्यान गएको जनाएको छ । जोर्डन, सेनेगल, ट्युनिसिया र इरानले पनि आफ्ना नागरिक गुमाएको बताएका छन् ।

यो वर्ष ज्यान गुमाउनेको सङ्ख्या गतको वर्षको भन्दा दोब्बरले धेरै हो । यसपटक विश्वभरबाट १८ लाख जना हजयात्राको लागि साउदीको मक्कामा पुगेका छन् । दिउँसो अत्यधिक गर्मी हुँदा बिहान र बेलुका हजको प्राथना हुने गरेको छ, त्यो बेला भीड बढ्दा कयौँले निसासिएर ज्यान गुमाएका खबरमा उल्लेख छ ।

अहिले साउदीको तापक्रम झन्डै ५२ डिग्री सेल्सियसम्म पुगेको छ ।


प्रतिकृया दिनुहोस्