Hamro Sanchar

डुम्रे-बेँसीसहर सडक पहिरोले अवरुद्ध

रासस प्रकाशित : २०८१ असार, ५ गते


लमजुङ, असार ४- निरन्तर वर्षाले डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले जानकारी दिए । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि निरन्तर पानी परिरहेकाले समस्या भएको उनले बताए ।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन्  ।

बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ। यो वर्ष डुम्रे–बेँसीसहर सडकखण्ड पहिलोपटक अवरुद्ध भएको हो ।


प्रतिकृया दिनुहोस्