Hamro Sanchar

मध्य र पश्चिम तराईमा अझै ४ दिन छैन मनसुन पुग्ने सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ३ गते


Advertisement

काठमाडौं, असार २- देशका मध्य र पश्चिम तराईमा अझै ४ दिन पानी पार्ने प्रणाली मनसुन पुग्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुन देशको पूर्वी भागमा मात्र रहेको महाशाखाले जनाएको छ। गत जेठ २८ गते (जुन १० तारिख) कोसी प्रदेश प्रवेश गरेको मनसुनको प्रभाव मधेसको पूर्वी भाग र बागमती प्रदेशको पूर्वी भागसम्म मात्र आइपुगेको मौसमविद्को भनाइ छ। यद्यपि कोसी प्रदेशयता मनसुन प्रवेशको औपचारिक घोषणा भने मौसम महाशाखाले गरिसकेको छैन।

बरु आगामी ४ दिनसम्म मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मी हुने सम्भावना देखिएको भन्दै ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आइतबार अपराह्न चेतावनी जारी गरेको छ। जसमा भनिएको छ- देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। तसर्थ ती भूभागमा आगामी ४ दिन (असार ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


प्रतिकृया दिनुहोस्