Hamro Sanchar

वडाअध्यक्ष फुयालद्धारा मिलन एकता टोलको सडक उद्घाटन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ३ गते


Advertisement

काठमाडौं, असार २- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ स्थित मिलन एकता टोलको सडक निर्माण सम्पन्न गरेर उद्घाटन गरिएको छ ।

टोलको ४०० मिटर लम्बाई सडकमा ढल, वाल र ढलान गरि निर्माण सम्पन्न भएको सडक वडाअध्यक्ष प्रकाश फुयालले शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । उक्त सडक ७० लाख रुपियाँमा सम्पन्न भएको हो । सो रकम बाग्मती प्रदेस, भौतिक पुर्वाधार विकास मन्त्रालयले ५५ लाख रुपियाँ उपलब्ध गराएको थियो भने बाँकी रकम उपभोक्ताले हालेका थिए ।

४०० मिटर लम्बाई र १३ फिट चौडाई भएको सडक केपी कंक्रिड एण्ड कन्ट्रक्सन कम्पनीले १ महिनाभित्र सम्पन्न गरेको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष फुयालले सडक निर्माणका लागि रकम उपलब्ध गराउने बाग्मती प्रदेस, भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । उनले गुणस्तरीय सामान प्रयोग गरेर सडक निर्माण गरिएकाले भोलिका दिनमा यसको संरक्षण र बस्तीलाई रमणीय बनाउन उपभोक्ताले ध्यान पुर्याउनु पर्ने बताए ।

उनले भने, ‘यो बस्ती राम्रो छ । उपभोक्ताहरु सक्रिय हुनुहुन्छ । १३ फिट बाटो भएपनि यसअघि अवस्था बिकराल थियो । ढल, वालसहित ढलान गर्ने वा कालोपत्रे गर्ने कुरा थियो । गत बर्ष फागुनमा आएर हामीले यो बाटोलाई नोटिसमा राख्यौं । वडाको १०/१५ लाखले यो बाटो सम्पन्न हुने अवस्था थिएन । नगरपालिकाले पनि एकैपटक यति धेरै रकम दिने अवस्था थिएन । यो बाटो सम्पन्न गर्न म आफैं लागि परे । मन्त्री दुलालसँग मेरो व्यक्तिगत रुपमा पनि चिनजान थियो । उहाँलाई यो बाटोलाई पैसा हाल्दिन पर्यो भनेर अनुरोध गरें । रकम निकासा भयो र यो सम्भव भयो । अब यसको संरक्षण गर्ने जिम्मा तपाइँहरुकै हो ।’

यस्तै उनले यस टोलमा खानेपानीलगायत आधारभूत आवश्यकता पूर्ति गर्न आफुहरु तयार रहेको बताए । साथै उनले वडाको सामाजिक, आर्थिक तथा शैक्षिकलगायत विभिन्न क्षेत्रको विकासमा जोड दिने प्रतिबद्धता जनाए ।

यस्तै कार्यक्रममा वडा सदस्य बिकाश केसीले यस टोलमा सबैको बाटो, बिजुलीसहित अत्यावश्यक कार्य सम्पन्न भएकोले अब शुद्ध खानेपानीको लागि पहल भैरहेको बताए । उनले ढल निकासको लागि मनोहरा करिडोरको कार्य अगाडी बढ्दै गरेको जानकारी दिए ।

उद्घाटन भएको सडकमा अहिले दुइपांग्रे सवारी साधन मात्र संचालन भैरहेको छ भने चारपांग्रे सवारी साधनलाई निषेध गरिएको छ ।


प्रतिकृया दिनुहोस्