Hamro Sanchar

‘फ्लोर क्रस’ गर्ने देवकोटालाई माओवादीले गर्यो कारबाही, अब मन्त्री पद के हुन्छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १ गते


Advertisement

कास्की, जेठ ३२- नेकपा माओवादी केन्द्रको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका फणीन्द्र देवकोटा कारबाहीमा परेका छन् ।

फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् । प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए ।

यसअघि माओवादीले देवकोटालाई स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

पदमुक्त भएका देवकोटा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित प्रदेश सभा सदस्य हुन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का उनी प्रदेश सभामा भने नेकपा माओवादी केन्द्र संसदीय दलका सदस्यका रुपमा रहेका थिए ।

फ्लोर क्रसपछि देवकोटा पाण्डे सरकारमा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् । माओवादीले कारबाही गरेको पत्र दिएसँगै सांसदनै नहुने स्थितिमा अब उनको मन्त्री पद के हुने भन्ने स्पष्ट भैसकेको छैन ।

संविधान अनुसार सांसद नभएको व्यक्ति पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ । तर देवकोटा निलम्बन हुने गरी भएको कारबाहीको सूचना विरुद्ध सर्वोच्च जाने तयारीमा छन् ।

उनलाई सर्वोच्चले थमौती गरे पद रहन्छ । नत्र ६ महिनाभित्र गोरखा क्षेत्र नम्बर २ (१) मा निर्वाचन हुनेछ ।


प्रतिकृया दिनुहोस्