Hamro Sanchar

भाजपा एक्लैले बहुमत हासिल गर्न असफल, प्रधानमन्त्री बन्न मोदीलाई गठबन्धन चाहिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २३ गते


Advertisement

काठमाडौं, जेठ २३- भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जितेको छ ।

भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ । सन् २०१९ मा भाजपा एक्लै ३०३ सिटका साथ बहुमत हासिल गरेको थियो ।

सन् २०१९ मा ५२ सिटमा सीमित भएको कांग्रेस एक्लैले ९९ सिट जितेको छ । समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेका छन् । त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेको छ ।

बहुमतका लागि २७२ सिट जित्नुपर्ने भए पनि कुनै पनि दलले एकल बहुमत हासिल गर्न सकेनन् ।

यद्यपि भाजपा सबैभन्दा ठूलो दल बनेकाले उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने छ । सरकारको नेतृत्व भने भाजपाका नेता नरेन्द्र मोदीले नै गर्ने छन् ।

मोदीले सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् ।

मोदी भारतमा लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन् । यसअघि यस्तो रेकर्ड जवाहर लाल नेहरुको नाममा छ ।


प्रतिकृया दिनुहोस्