Hamro Sanchar

बजेटमा सूचना प्रविधि : डिल्लीबजारमा बहुतले संरचना, खुमलटारमा ‘ज्ञान पार्क’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १५ गते


Advertisement

काठमाडौं, जेठ १५- नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ । यसका लागि सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

यस क्रममा अर्थमन्त्री पुनले आगामी १० वर्षको अवधिमा ३० खर्बको निर्यात हुने व्यवस्था मिलाइने पनि बताएका छन् । सूचना प्रविधिमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने व्यवस्था गरिने उनको भनाइ छ ।

सूचना प्रविधिलाई अर्थतन्त्रको सम्बाहक बनाइने भन्दै उनले नेपालमा सूचना प्रविधिमा डाटा सुरक्षा गर्ने व्यवस्था मिलाउने बताए । साथै डिजिटल नेपाल परिमार्जन गर्ने पनि सरकारको योजना रहेको उनले बताए ।

डिजिटल फ्रेमवर्क कार्यान्वयनका लागि ५९ करोड विनियोजन गरिएको उनले जानकारी दिए ।

डिल्लीबजारमा बहुतले संरचना, खुमलटारमा ‘ज्ञान पार्क’

काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षा लगायतको पूर्वाधारसहित सूचना प्रविधि पार्क सन्चालनको काम अगाडि बढाउने सरकारको घोषणा छ । यस्तो पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सन्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने छ ।

सार्वजनिक, निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सन्चालनको लागि काठमाडौंको डिल्लीबजारस्थित चारखालमा बहुतले संरचना निर्माण गरिने अर्थमन्त्री पुनले बताए ।

ललितपुरको खुमलटारमा ‘ज्ञान पार्क’ स्थापना गर्न १७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने व्यवस्था मिलाउने सरकारको योजना छ ।

सरकारी डाटा सेन्टरको स्तरोन्नती गरिने र निजी क्षेत्रबाट सञ्चालन हुने डाटा सेन्टरको लागि मापदण्ड तयार गरिने मन्त्री पुनले बताए ।

विद्युतीय तथ्यांकको भण्डारण, सुरक्षा र उपयोगलाई व्यवस्थित र भरपर्दो बनाइने छ ।

सूचना प्रविधिका विद्यार्थीलाई इन्टर्नको व्यवस्था

सरकारले सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था मिलाइनेसमेत जनाएको छ ।

सबै वडा केन्द्र, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याइने छ ।

डिजिटल डिभाइड कम गर्न पिछडिएको वर्ग, क्षेत्र र महिलाको सूचना प्रविधिमा पहुँच बिस्तार गरिने छ ।


प्रतिकृया दिनुहोस्