Hamro Sanchar

कुवेतस्थित नेपाली राजदूतावास शुक्रबार पनि खुल्ने, झन्डै १३ सय राहदानी वितरण हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १० गते


Advertisement

काठमाडौं, जेठ १०- कुवेतस्थित नेपाली राजदूतावास सार्वजनिक विदाको दिन अर्थात् शुक्रबार पनि खुल्ने भएको छ ।

गत मे १० तारिख (२०२४) सम्म फोटो खिचाएका एक हजार २ सय ९७ जना नेपालीको राहदानी नवीकरण भएर राजदूतावासमा प्राप्त भएकाले उक्त राहदानी वितरणका लागि विदाको दिनपनि सेवा दिन लागेको राजदुत घनश्याम लम्सालले जानकारी दिए ।

बिगतमा राहदानी वितरणको कार्य आईतबार देखि बिहीबारसम्म (बिदाका दिन बाहेक) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म गरिँदै आएको थियो । तर यसपटक सेवाग्राहीको सहजताका लागि विदाको पनि राजदूतावास खुल्ला गरेर सेवा दिन लागेको राजदूतावासले जनाएको छ ।

‘कुवेतमा शुक्रबार सार्वजनिक विदा दिने गरिन्छ । राजदूतावास पनि शुक्रबार र शनिबार बन्द हुने गर्छ । अधिकांश नेपाली कार्यरत कम्पनीमा शुक्रबार विदा हुने हुनाले नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीहरुले विदाबाहेकका दिन राजदूतावास आउन समस्या पर्ने देखियो ।’ हाम्रोसंचारसँग राजदुत लम्सालले भने । ‘अफिस समयमा अन्य कामकाजका लागि पनि धेरै भिड हुने र एकै पटक १३ सय जनाको राहदानी वितरण गर्न असहज हुने भएकाले विदाका दिनपनि सेवा दिने भएका हौँ ।’

पछिल्लो समय राहदानी बनाउने कार्यलाई पनि सहज बनाएको र नेपाली राजदूतावास नेपाली श्रमिककै हक, हित र अधिकार स्थापित गर्न लागि परिरहेको राजदुत लम्सालले बताए ।

आवेदकहरूले आफ्नो पुरानो सक्कल राहदानी र राजश्व बुझाएको रसिदसहित सम्पर्क गर्न राजदूतावासले अनुरोध गरेको छ । साथै राहदानीवाहकले नयाँ राहदानी लिँदा आफ्नो बायो पेज हेरी लिन भनेको छ ।

कुवेतमा अधिकांश कम्पनीमा शुक्रबार विदा रहने गरेको छ भने नेपाली राजदूतावास शुक्रबार र शनिबार बन्द हुने गरेको छ ।


प्रतिकृया दिनुहोस्