Hamro Sanchar

नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सम्झौता र समझदारी, के-के हुन् ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १२ गते


Advertisement

काठमाडौं, बैशाख १२- कतारका अमिर शेखर तमिम विन हमाद अल थानीको भ्रमणका अवसरमा दुई देशबीच दुईवटा सम्झौता र ६ वटा समझदारी भएका छन् ।

राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । यसैगरी सरकारी स्तरमा कला तथा संस्कृति, शिक्षा, युवा तथा खेलकुद, कानुनी निकायबीच सहकार्य र कूटनीतिक तालिमसम्बन्धी समझदारी भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शबीच संयुक्त व्यापार परिषद् गठनसम्बन्धी सम्झौता र सम्झौता पत्र नवीकरणसम्बन्धी दस्ताबेजमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर अल थानीको उपस्थितिमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो । सरकारी स्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गरेका हुन् । गैरसरकारी स्तरमा भएको समझदारी पत्रमा नेपालका तर्फबाट उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर अल थानीबीच भएको द्विपक्षीय भेटवार्तामा नेपालमा लगानीको सम्भाव्यताका विषयमा छलफल भएको थियो । उक्त अवसरमा कतारका अमिर अल थानीले कतारको विकासमा नेपालका श्रमिकहरू योगदानको समेत उल्लेख गरे । भेटवार्तामा सहकार्य र सहयोगका लागि दुईपक्षीय संयुक्त समिति गठन गर्नेसमेत सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जानकारी दिए ।

दुईपक्षीय वार्तापछि प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर अल थानीबीच एक्लाएक्लै पनि छलफल भएको थियो । कतारका अमिर अल थानीको सम्मानमा आजै दिउँसो प्रधानमन्त्रीले दिवाभोज आयोजना गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न काठमाडौं आइपुगेका कतारी अमिरले हिजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए ।

कतारका अमिर अल थानी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्किएका छन् । अमिर अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।


प्रतिकृया दिनुहोस्