Skip

Hamro Sanchar

मुलपानीमा बिस्का जात्रा : अध्यक्ष श्रेष्ठ भन्छन, नयाँ वासिन्दाले घर र थर सोधेपछि झस्किय

सुदिप बर्देवा प्रकाशित : २०८१ बैशाख, ५ गते


काठमाडौं, बैशाख ३- विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा नेवार समुदायले लिच्छविकालदेखि मनाउँदै आइएका छन्  । नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ । यस्तै काठमाडौं उपत्यका भित्र सबै जसो क्षेत्रमा नेवार समुदायले यो जात्रा मनाउदै आएका छन् ।

काठमाडौंको पूर्वी भागमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर- ६, मूलपानीमा पनि धुमधामसाथ बिस्का मनाईएको छ । मूलपानी नेवा खल: को आयोजनामा वैशाख १ र २ गते धुमधामसाथ बिस्का जात्रा मनाईएको हो ।

मूलपानी नेवा खल: का अध्यक्ष हरि श्रेष्ठले हाम्रोसंचारलाई भने, “मुलपानी नेवा खल: को स्थापना भएको ४ वर्ष भयो । ४ वर्ष अगाडि सम्म यो क्षेत्रमा बिस्का जात्रा मनाईदैनथ्यो । बिस्का जात्रा मनाउन मनोहरा पारी बोडे, भक्तपुर जाने गर्थें ।  तर आफैले, आफ्नै क्षेत्रमा यो जात्रा मनाउन थालेको ४ वर्ष भयो ।”

चार वर्ष अगाडीबाट चाहिँ कसरि ? के उदेश्यले यस क्षेत्रमा यो जात्रा मनाउन थाल्नु भएको भन्ने हाम्रो प्रश्नमा अध्यक्ष श्रेष्ठले यसको रोचक पक्ष छ, भन्दै भने, ” यस क्षेत्रमा मेरा ७ पुस्ता अगाडि देखि बसोबास गर्दै आएका छन् । तर एकदिन के भयो भने, म एकदिन घरको करेसाबारीमा काम गर्दै थिय, केहीदिन अगाडि मात्रै मेरै घर नजिकै छिमेकी बसाइसराइ गरेर आएका रहेछ तर हाम्रो चिनजान थिएन ।”

उनले थपे, “ती व्यक्ति बाटोमा थिय । मेरो करेसाबारी पनि बाटोसंगै जोडिएको थियो । सायद उनले म सँग परिचय गर्ने उदेश्यले होला, भाईको घर कता हो ? के थरी हौ ? भनेर सोधे । म लज्जित भए । यो अर्थमा कि, मेरो ७ पुस्ता यहाँ बसिरहेको छ, तर आज नयाँ बस्तीका मान्छेले घर कहाँ हो ? थर के हो भनेर सोधपुछ गर्दा कता कता म आफै यस क्षेत्रमा हराए कि ! जस्तो अनुभूति भयो । म झस्किए ।

ती छिमेकीलाई मेरो घर यहि हो, म श्रेष्ठ हुँ भनेर त भने, तर मन सारै गरुङ्गो भयो । त्यसपछि त्यहि दिन मैले निधो गरे, अब यस क्षेत्रका सबै नेवारलाई संगठित गर्छु, र आफ्नो समुदाय परम्परा, रीतिथिति जगेर्ना गर्दै अगाडि बढ्छु । त्यहि दिन नै मैले वरपरका आफन्तहरुलाई बोलाएर मुलपानी नेवा खल: स्थापना गर्ने पहल सुरु गरे । सबै जना नेवार समुदायका साथीभाई सकारात्मक हुनु भयो ।  र हामीले ४ वर्ष अगाडि यसको स्थापना गर्यो। त्यसपछि हामीले हाम्रा सबै सस्कृति र परम्परालाई जगेर्ना गर्दै आएका छौ ।”

उनले खुसि हुदै थपे, “मूलपानी क्षेत्रमा झन्डै ५० घरधुरी नेवार छन् । ४ वर्ष अघिसम्म हामी आफ्नै समुदायका परिवारबीच एकता थिएन । अहिले सबै एकजुट छौ । अहिले हाम्रो एकता देखेर सबै अचम्मित पर्छन। सायद भोट माग्न होला, स्थानीय र संघको चुनावमा उठेका उमेदवारले मलाई भेट्न समय मागेका थिए । यो सबै ४ वर्षमा भयो ।”

अहिले मुलपानी नेवा खल: लाई कागेश्वरी मनोहरा नगरपालिकाले बार्षिक रुपमा बजेट नै छुट्याउने गरेको छ भने, नगरपालिकाको बजेटबाट आगामी आर्थिक वर्षमा मुलपानी नेवा खल: को आफ्नै पक्कि भवन निर्माण गरिदिने नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले प्रतिवद्धता जनाएको अध्यक्ष श्रेष्ठ सुनाए ।

यस्तै, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर- ६, ले पनि मुलपानी नेवा खल: लाई राम्रो साथ सहयोग गर्दै आएको छ । वडा नम्बर- ६ का वडा अध्यक्ष प्रकाश फुयाल, मुलपानी नेवा खल: को बिकास र प्रवर्द्धनमा लागि परेका छन् ।


प्रतिकृया दिनुहोस्