Hamro Sanchar

६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कागेश्वरी मनोहरामा अन्तरक्रिया

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २० गते


Advertisement

काठमाडौं, चैत २०- कागेश्वरी मनोहरा नगरपालिकाको सहकारी शाखाले अन्तरक्रिया कार्यक्रम गरेर ६७औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । शाखाले नगरपालिकाको थलीस्थित राधाकृष्ण हलमा सहकारीको वर्तमान अवस्था, चुनौती र समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

”सहकारीमा सुशासन : प्रविधि र एकिकरण” भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकामा संचालित ७० वटा र प्रदेश अन्तर्गतका २२ गरि ९२ वटा सहकारीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहकारी संचालनमा देखिएका समस्या, सहकारीका बारेमा जनमानसमा परेको नकरात्मक प्रभाव, सदस्यहरुलाई ऋण लगानी गर्दा अपनाउनु पर्ने विधिहरु, आवश्यक कागजातहरु, धितो मूल्यांकन, जमानत लगायत संभावित जोखिमहरुका बिषयमा घनिभूत छलफल साथै अन्तरक्रिया भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख उपेन्द्र कार्कीले विपन्न समुदायका जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणका सहकारीको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै सहकारीलाई सहकारीकै मर्म, भावना र सिद्धान्त अनुसार अगाडि बढाउनु पर्नेमा जोड दिए ।

सहकारीमा आम नागरिकको पहुँच स्थापित गरी अघि बढ्न सके मात्रै सहकारी अभियानले फड्को मार्ने नगरप्रमुख कार्कीको भनाई छ ।

स्थानीय सरकारको समृद्धिको आधार सहकारी क्षेत्र भएकाले सहकारी अभियान र स्थानीय सरकारबीच समन्वय तथा सहकार्य हुनुपर्नेमा उनले जोड दिए । नगरपालिकाले ‘एक सहकारी न्युनतम एक उद्यमशीलता’को नीति ल्याएको बताउदै नगरप्रमुख कार्कीले यस बर्षबाट नगरपालिकाले पहिचान गरेका नयाँ क्षेत्रमा बचतको न्युनतम ५ प्रतिशत लगानी गर्नुपर्ने बताए ।

सहकारी शाखा प्रमुख विश्वास ज्ञावालीले संचालन गरेको उक्त कार्यक्रममा नगर उपप्रमुख शान्ता थापाले स्वागत मन्तब्य दिएकी थिइन् । मन्तब्यका क्रममा उपप्रमुख थापाले सहकारीले जनताको विश्वास जितेर मनोभावनालाई बुझेर कार्य गर्न अनुरोध गरिन् । उनले स्थानीय स्तरमा निम्न स्तरका स्थानीयको जीवनस्तर उकास्ने गरि काम गर्न समेत अनुरोध गरेकी थिइन् ।

यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सहकारीलाई राज्यको नियमन क्षेत्र अन्तरगत रहेर व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सहकारी ऐन, नियमावली र संस्थाको विनियमका प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताए । उनले सहकारीले उत्पादनजन्य क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

साखा प्रमुख ज्ञावालीले पछिल्लो समय सहकारीका बारेमा फैलिएको नकारात्मक धारणाले यहाँका सहकारीहरु पनि ग्रसित हुन पुगेको बताए । उनले केही भ्रष्ट सञ्चालक समितिका पदाधिकारी, कर्मचारीका कारण सहकारीहरु बद्नाम भैरहेको बताए । उनले सहकारीको सिद्धान्त अनुरुप अगाडी बढे सहकारीहरु कहिले पनि नडुब्ने बताए । साथै उनले सहकारीहरुको अनुगमन गरिरहेको जानकारी दिँदै बाँकी रहेका अन्य सहकारीमा पनि अनुगमनलाई निरन्तरता दिने जानकारी दिए ।

पछिल्लो समय नगरपालिकाले नगर उपप्रमुख थापाको संयोजकत्वमा समिति बनाई नगरभित्रका सहकारीहरुको अनुगमन र नियमन गरिरहेको छ ।

उक्त कार्यक्रममा अनुगमन समितिका सदस्य गया प्रसाद उपाध्याय, रामेश्वर श्रेष्ठ र कास्कुनका प्रमुख प्रशासकीय अधिकृत अरुण तिवारीले मन्तब्य राखेका थिए ।

कार्यक्रममा शाखा प्रमुख ज्ञवालीले अनुगमनका क्रममा देखिएका कैफियत, देखिएका समस्याहरु र शालिकराम पुडासैनीले सहकारीको वर्तमान अवस्था, चुनौती र समाधान सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

२०१३ चैत २० मा चितवनको शारदानगरमा स्थापना भएको बखान सहकारी स्थापनाको दिनको स्मरणमा ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नारासहित दिवस मनाउन लागिएको हो । प्रत्येक वर्ष चैत २० मा सहकारी दिवस मनाइँदै आएको छ । हाल मुलुकभर ३१ हजार ३ सय बढी सहकारीमा करिब ७३ लाख बढी सदस्य छन् ।


प्रतिकृया दिनुहोस्