Hamro Sanchar

प्रचण्डको निर्देशन मानेनन् मुख्यमन्त्री शर्माले, आजै विश्वासको मत लिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २० गते


Advertisement

काठमाडौं, चैत २०- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पार्टी अध्यक्षको निर्देशनको अवज्ञा गरेका छन् ।प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत मुख्यमन्त्री शर्माले आजै विश्वासको मत लिने तयारी गरेका छन् ।

कर्णाली प्रदेश सभाको बैठक मंगलबार दिउँसो तीन बजे बस्दैछ । उक्त बैठकमा शर्माले विश्वासको मत लिने तयारी गरेका छन् ।

सोमबार बिहान बालुवाटारमा तीन दल (नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी) का अध्यक्षसहितको छलफलपछि बागमतीमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई विश्वासको मत दिने र कर्णालीको मुख्यमन्त्री नेकपा (एमाले)ले लिने समझदारी भएको थियो ।

सोहीअनुसार प्रधानमन्त्री प्रचण्डले कर्णालीमा पार्टी इन्चार्ज कालिबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत लिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए ।

पार्टी उपमहासचिव जनार्दन शर्माले माओवादी केन्द्रको जनाधार रहेको कर्णालीको मुख्यमन्त्री छाड्न नहुने अडानमा छन् ।

कर्णालीमा मुख्यमन्त्री उपमहासचिव शर्मा निकट हुन् ।

कर्णालीमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ । उसका १४ सांसद छन् । दोस्रो ठूलो दल माओवादी केन्द्रमा १३ सांसद छन् । एमालेका १० सांसद छन् ।

एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्रका एक–एक सांसद रहेका छन् ।

४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २० मत आवश्यक हुन्छ ।


प्रतिकृया दिनुहोस्