Hamro Sanchar

हानेपा सहभागी भएसँगै बाग्मती प्रदेश सरकारको संकट टर्यो, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १८ गते


Advertisement

काठमाडौं, चैत १८- नयाँ गठबन्धन बनेसँगै बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले शनिबार एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री थपलियाले शनिबार बेलुका प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

यसअघि बिहीवार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का नेता शैलेन्द्र बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीमा नियुक्त गरेका थिए । केन्द्रमा नयाँ गठबन्धन बनेपछि तत्कालीन सत्तासाझेदार दल कांग्रेसका छ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बाग्मती प्रदेश सरकार अल्पमतमा परेको थियो ।

हानेपा सरकारमा सहभागी भएसँगै बाग्मती प्रदेश सरकारको संकट तत्काललाई टरेको छ । एक सय १० सदस्य रहेको बाग्मती प्रदेश सभामा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेश सभामा नयाँ गठबन्धनका दल एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी जम्मा ५५ सांसद छन् । दुई सांसद रहेको हानेपा थपिएपछि जम्कट्टेल नेतृत्वको सरकारले बहुमत सदस्य जुटाएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिँदै छन् ।


प्रतिकृया दिनुहोस्