Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकार र म्यानपावर व्यवसाय बीच सहमति : आन्दोलन फिर्ता, श्रमिक पठाउन नरोक्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १ गते


Advertisement

१ भदौ,काठमाडौं । सरकार र वैदेशिक रोजगार व्यवसायीबीच भएको वार्तापछि व्यवसायीहरूले घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन्।

व्यवसायीले उठाएका १५ बुँदे माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिइएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले जानकारी दिए।

सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने भएका छन्।

व्यवसायीहरूले सेवा शुल्क तोक्नुपर्ने, वैदेशिक रोजगार विभागबाट भएका कारबाही फिर्ता लिनुपर्ने लगायतका माग राख्दै आन्दोलन घोषणा गरेका थिए।

श्रम मन्त्रालयमा आज मन्त्री र सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलमा १५ बुँदे मागमाथि विस्तृत छलफल भएको थियो।

मन्त्रालयका अनुसार व्यवसायीले उठाएका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित छन्। तीमध्ये कतिपय विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समेत समेटिएकाले संशोधनमार्फत सम्बोधन गर्न मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ।

यस्तै, आवश्यक प्रमाण तथा कागजातसहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेश गर्न सकिने र विभागबाट प्रशासनिक सहजीकरण गर्ने सहमति भएको छ।

विभागबाट समस्या समाधान हुन नसके कानुनी प्रक्रियाअनुसार मन्त्रालयमा पुनरावेदन गर्न सकिने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउने गरी ऐन तथा नियमावली संशोधनको प्रक्रिया अघि बढिरहेको मन्त्रालयको भनाइ छ।


प्रतिकृया दिनुहोस्