Hamro Sanchar

पक्राउ परेका कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो, अदालतमा उपस्थित गराउने प्रहरीको तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, ५ गते


Advertisement

काठमाडौं, चैत ५- रुपन्देहीको भैरहवाबाट पक्राउ परेका पूर्व समाभुख कृष्णबहादुर महरा सवार यती एयरलाइन्सको विमान काठमाडौंमा अवतरण भएको छ । काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिँदै छ ।

भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।


प्रतिकृया दिनुहोस्