Skip

Hamro Sanchar

कपिलमणि आत्महत्या प्रकरण : दुरुत्साहन मुद्धामा पक्राउ परेका संचालक र व्यवस्थापक रिहा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १ गते


दोलखा, चैत १- आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका दोलखाको मेलुङ गाउँपालिका-१ पवटीस्थित हाम्रो सुर्योदय सहकारी संस्थाका संचालक र व्यवस्थापक धरौटीमा रिहा भएका छन् ।

संस्थाका अध्यक्ष छत्रराज उप्रेती, सचिव हरिवहादुर खड्का र व्यवस्थापक महेन्द्र भुजेल दोलखा जिल्ला अदालतको आदेश वमोजिम जनही २/२ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

उनीहरुलाई जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलाशले बिहिबार २/२ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको हो ।

संस्थाका पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपानेले गत फागुन ५ गते बिहान सुसाइटमा नोटमा संचालक समितिलगायत आफूलाई आत्महत्या दुरुत्साहन गर्नेहरूको नाम उल्लेख गरेका थिए । त्यसलगत्तै मृतकका परिवारले सहकारी संचालक, पूर्व संचालक र व्यवस्थापकसहित २४ जनाबिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । सो जाहेरीका आधारमा प्रहरीले अध्यक्ष छत्रराज उप्रेती, उपाध्यक्ष पुष्प लकाई, सचिव हरिवहादुर खड्का र व्यवस्थापक महेन्द्र भुजेललाई नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको थियो ।

हिरासतमा रहेका संस्थाका उपाध्यक्ष पुष्प लकाई र सहसचिव शिव बहादुर कार्कीलाई अदालतले मुद्धा नचलाउने निष्कर्षसहित बुधबारै रिहा गर्न आदेश दिएको थियो ।

गत माघ १५ गते राति न्यौपानेको घरमा सञ्चालित सहकारीबाट ३२ लाख ८७ हजार चोरी भएको थियो । चोरी भएको सहकारीको भल्ट र रकम हालसम्म फेला परेको छैन । प्रहरीले पक्राउ गरेर चोरीमा संलग्न नदेखिएपछि कपिलमणिलाई पनि प्रहरीले रिहा गरेको थियो । फागुन २ मा रिहा भएर घर गएका न्यौपानेले पुर्खौली घर नजिकै आँपको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए ।

आत्महत्या दुरुत्साहनको मुद्धामा सहकारीका कोषाध्यक्ष हेमराज उप्रेती, पूर्व सचिव मुकुन्द उप्रेती, पूर्व संचालक सोभित उप्रेती, कर्मचारी रामशरण कार्की, पुर्व वडासचिव समिरा गौतम, पवटी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु पवित्रा बास्तोला, अप्सरा खड्का र मुना कोइराला अझै प्रहरीको फरारको सूचिमा रहेका छन् ।

यो पनि पढ्नुहोस्- सूर्याेदय चोरी प्रकरण : ७ महिनादेखि सहकारीमै रकम राखिएको खुलासा, यस्ता छन् भित्री रहस्य

यो पनि- सूर्याेदय सहकारी चोरी प्रकरण : नियन्त्रणमा लिएका तारेखमा छुटे, के गर्दैछ प्रहरी ?


प्रतिकृया दिनुहोस्