काठमाडौं, फागुन २९- सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मंगलबार बसेको संसदीय दल बैठकमा बोल्दै संसदीय दल नेतासमेत रहेका ओलीले दिल खोलेर बुधबार प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बुधबारको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
‘हामी एकदम खुलेर, दिल खोलेर, भोलि विश्वासको मत दिन्छौं,’ अध्यक्ष ओलीले भने, ‘विश्वासको मतमा हामी प्रतिनिधि सभाका सबै सदस्यहरू उपस्थित हुनेछौं । सम्पूर्णले प्रधानमन्त्री प्रचण्डमाथि यस प्रतिनिधि सभाको विश्वास छ भन्ने पक्षमा मतदान गर्नेछौं । यो पार्टीका तर्फबाट कमरेडहरूलाई आदेश पनि हो । यसबारे ह्विप प्रमुख सचेतकले जारी गर्नुहुनेछ ।’
अहिलेको परिवर्तन सकारात्मक भएको पनि अध्यक्ष ओलीले बताए ।
‘अहिलेको यो परिवर्तन सकारात्मक छ र यसलाई अगाडि बढाउनुपर्छ । यो असफल हुनु भनेको देश ठूलो असफलतामा जानु हो । यो बेस्ट अप्सन हो कि होइन भन्ने कुरा छाडिदिऊँ । यतिबेलाको अर्को कुनै अप्सन छैन,’ ओलीले भने, ‘दुइटा मात्रै अप्सन हो । कि त प्रचण्डको नेतृत्वमा अहिले यो समीकरण कायम रहन्छ र जित्छ यसले । कि त संविधानको धारा ७६ को उपधारा ३ अनुसार नेपाली कांग्रेसको अल्पमतको सरकार बन्छ भोलि । दुईमध्ये एउटा कुरा हुन्छ । अल्पमतको सरकार बन्नेजस्तो देशलाई दुर्घटनामा लाने काम हुन दिनु हुँदैन ।’
उनले उत्साहका साथ ढुक्क भएर मतदान गर्न पनि आग्रह गरेका छन् ।