Hamro Sanchar

राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदान, दाहाल र शर्माबीच प्रतिस्पर्धा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २९ गते


Advertisement

काठमाडौं, फागुन २९- राष्ट्रिय सभाको अध्यक्षका लागि आज मतदान हुँदैछ । बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने संसद् सचिवालयको कार्यतालिका छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उम्मेदवार छन् ।

राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सांसद छन् । एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ र जसपाका तीन सांसद छन् । यसरी गठबन्धनमा उपाध्यक्षसहित ३९ सांसद छन् ।

यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले कता भोट हाल्ने भन्ने खुलाएका छैनन् ।

राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन् । २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेकी थिइन् ।

कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । उनी ०४५ सालमा पार्टीको बाँके सभापति भएर काम गरेका थिए ।

गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभामा नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो ।


प्रतिकृया दिनुहोस्