काठमाडौं, फागुन २८- राष्ट्रिय सभा अध्यक्षमा उम्मेवारी दिएका माओवादी केन्द्रका सांसद नारायण दाहालले पार्टीमा आफूले कुनै जिम्मेवारी पाउनेबित्तिकै प्रचण्डको भाइ भनेर आचोचना हुने गरेको भन्दै गुनासो गरेका छन् । सोमबार बिहान सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गरेपछि दाहालले यस्ता आरोप सुन्दा र त्यसको खण्डन गर्दा आफ्नो कान पाकेको र मुख थाकेको बताए ।
‘म ०३६ सालदेखि नै यो पार्टीको राजनीतिमा छु । दाजुभाइको नाताको चर्चा गर्नेले जनयुद्धमा दाइ हिँडेका छन्, तँ हिँड्न पाउँदैनस् भन्ने कुरा किन नगरेका ?’ उनले प्रश्न गरे । आफूले प्रचण्डको भाइ भएर अवसर नपाएको दाबी उनको थियो ।
‘यो परिवारवाद होइन । यस्ता प्रश्नको उत्तर दिँदादिँदा मेरो कान पाक्यो, मुख थाक्यो । मैले पार्टीमा कुनै जिम्मेवारी पाउँदा यस्तो आरोप लाग्ने गरेको छ । प्रदेश सहइन्चार्ज बन्दा पनि यस्तै भनेका हुन् । ०३६ सालदेखि म यो पार्टीमा छु । म पार्टीमा खटिएको कुरा थाहा नपाउनेहरूले नै मलाई प्रश्न गरिरहेका छन् ।’