Hamro Sanchar

महिलामाथी सबै क्षेत्रबाट प्रहार हुँदो रहेछ, न्याय र समानताका लागि निरन्तर लड्छु : आरजु देउवा

प्रदिप नेपाली प्रकाशित : २०८० फागुन, २६ गते


Advertisement

काठमाडौँ, फागुन २६- प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले महिलामाथि हुने विभेद अन्त्यका लागि आफु निरन्तर लड्ने बताएकी छन् ।

महिला हकअधिकारका लागि लामो समयदेखि पैरवी गर्दै आएकी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवाले महिलालाई सबै क्षेत्रबाट प्रहार हुने भएकाले महिलाको न्याय र समानताका लागि निरन्तर लड्ने बताएकी हुन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले शनिबार गरेको लब्धप्रतिष्ठित महिला सम्मान कार्यक्रम बोल्दै देउवाले यस्तो बताएकी हुन् ।

उनले महिलामैत्री नीति र कानुन निर्माण, सूचना प्रविधिमा महिलाको पहुँच स्थापित गर्नका लागि संसदमा क्रियाशील रहने बताइन् ।

‘आजपनि महिलामाथी सबै क्षेत्रबाट कुनै न कुनै रुपमा प्रहार हुँदै आएका छन् । प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले व्यक्तिगत रूपमा महिला मैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछु । प्रविधिको पहुँचमा लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्नेछु’ उनले भनिन्- ‘आजको दिन ग्रामीण सीमान्तकृत समुदायका महिलाहरूको प्रविधि साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरूको पहुँच पुर्‍याउने नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । महिला सशक्तीकरणको विषय केवल महिलाको मात्र मुद्दा होइन । यसका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक पर्दछ ।’

उनले विश्वभर आज पनि महिलामाथि कुनै न कुनै प्रकारका विभेदहरू कायमै रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अवसरमा महिलाहरूको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न नसकेको बताएकी छिन् ।

उनले आफुपनि कागेश्वरी मनोहरा नगरपालिका नजिकै रहेको र आफ्नो ब्यबसाय पनि यतै भएकाले यहाँका महिलाहरुको साथमा रहेको र आवश्यक सहयोग आदानप्रदानमा हातेमालो गर्ने बताइन् ।


प्रतिकृया दिनुहोस्