Hamro Sanchar

बैंकको ऋण तिर्दिन भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छ : अर्थमन्त्री पुन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २४ गते


Advertisement

 

काठमाडौं, फागुन २४- नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् ।

बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने बताए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ऋण नर्तिन भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्वद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी उनले दिए ।

“बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन,” पुनले भने, “त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।”

निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने प्रतिबद्धता मन्त्री पुनको थियो । मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेण्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पुनले उल्लेख गरे ।


प्रतिकृया दिनुहोस्