काठमाडौं, फागुन २४- निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ ।
बिहीबार आयोगले निर्णय गरी पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको हो ।
नाउपाले गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा रेशमलाई चयन गरेको थियो । महाधिवेशनको निर्णयअनुसार केन्द्रीय समिति अद्यावधिक गर्न आयोगमा पठाइएको थियो ।
आयोगले महाधिवेशनबाट रेशम नेतृत्वमा चयन कार्यसमितिलाई स्वीकार गरेन भने श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई निरन्तरता दिएको छ ।
विवरण अद्यावधिक गराउन निवेदन दिएसँगै त्यसविरूद्ध दुई वटा उजुरी समेत परेको थियो । त्यस उजुरीपछि आयोगले रेशम चौधरी र नाउपासँग कर्तव्य ज्यान कसुरमा दोषी भएर र राष्ट्रपतिबाट माफी पाएका व्यक्तिले कसुर नै नगरेको भन्न मिल्छ भनेर प्रश्न सोधेको थियो ।