
काठमाडौँ, फागुन १४- वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।
भजन शिरोमणि नामले सुपरिचित आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।
भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो । उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो । त्यसपछि उनले गाउन सकेनन् । उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन् ।
आचार्यको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनिसकेको छ । फिल्ममा गायकको जिन्दगीका आरोह अवरोह, सफलता र दु:खहरु समेटिएको छ ।
आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।