Hamro Sanchar

कुवेतस्थित नेपाली राजदूतावासले गर्यो “श्रमिक सचेतना” अन्तरक्रिया

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १२ गते


Advertisement

काठमाडौं, फागुन १२- कुवेतस्थित नेपाली राजदूतावासले “श्रमिक सचेतना” बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । राजदूतावासले शुक्रबार त्यहाँको साबस्थित कोस्टा डेल सोल रेष्टुरेन्टमा एनआरएनएलगायत कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाहरु र पत्रकारबीच “श्रमिक सचेतना” बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा कुवेतमा कार्यरत नेपाली श्रमिकहरुको समसामयिक विषयवस्तुहरूलाइ समेटिएका थिए । सहभागीहरुले प्रवासबाट अनलाईन भोटिङको व्यवस्था गर्न प्रकृया अगाडि बढाउने, सामाजिक सुरक्षा कोष सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, नेपाल-कुवेत बिच श्रम सम्झौताको प्रकृया अगाडि बढाउने, करार बमोजिम श्रमिकले तलब नपाएका विषयमा दूतावासबाट अनुगमन तथा निरिक्षण, साथै जथाभावी मागपत्र प्रमाणित, विद्युतीय राहदानी नविकरणको लागि अनलाइन फारम भर्न सहजिकरण गर्ने, घरेलु महिला कामदारको समस्या, प्रोजेक्ट भिसा प्राविधिक कठिनाईका बिषयमा उपस्थितले आ-आफ्ना भनाईहरु राखेका थिए ।

सहभागीहरुबाट उठेका बिषयमा सम्बोधन गर्दै राजदुत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई राजदुतावासबाट प्रदान गरिने सेवाहरु प्राथमिकताका साथ सरल, शिघ्र एवम् प्रभावकारी ढंगबाट प्रवाह गर्दै आएको जानकारी दिए । राजदुत लम्सालले नेपाली श्रमिकहरुका प्रतिनिधि तथा श्रमिकसँग निकटतम रुपमा छलफल गरि गुनासोहरु सुन्ने र छलफल पश्चातको निष्कर्षबाट समस्याको समाधान गर्न राजदुतावास सदैव तयार रहेको बताए । यस्ता अन्तरक्रिया आगामी दिनमा भैरहने र सेवा प्रवाहमा सुधार गर्न प्रभावकारी सुझाव प्राप्त हुने उनको भनाइ छ ।

कार्यक्रममा राजदूतावासकी काउन्सेलर सुजनी रानाले कुवेतमा नेपाली श्रमिकले गर्न हुने र नहुने कुराहरु, श्रम कानुनका प्रमुख पक्षहरु, विप्रेषण साक्षरता, सामाजिक संजालको संयमित प्रयोग तथा राजदूतावासबाट प्रदान गरिने सेवाहरु, अध्यागमन कानुन तथा श्रमिकहरुका लागि उपयोगी अन्य जानकारीहरुका सम्बन्धमा बोलेकी थिइन् । यसैगरी श्रम सहचारी गिरिप्रसाद आचार्यले सामाजिक सुरक्षा कोषमा आबद्धता, टेलिमेडिसिन सेवा, वैदेशिक रोजगार बोर्डबाट श्रमिकहरुलाई प्रदान गरिने सुबिधाहरु लगायत श्रम सम्बन्धि बिषयहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई दुताबासका प्रथम सचिव प्रेमराज गौतमले गरेका थिए भने सहभागीहरुलाई प्रथम सचिव सुजन विडारीले गरेका थिए ।


प्रतिकृया दिनुहोस्