Hamro Sanchar

श्रीमतीलाई फेसबुकमा भावुक सन्देश लेख्दै रक्तदाता मैनालीले अमेरिकामा गरे आत्महत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, २९ गते


Advertisement

काठमाडौं, माघ २९- श्रीमतीलाई फेसबुकमा भावुक सन्देश लेखेर चर्चित रक्तदाता अर्जुन मैनालीले आत्महत्या गरेका छन् ।

आफ्नो जीवनकालमा २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका मैनालीले पारिवारिक तनावका कारण आत्महत्या गर्न पुगेका हुन् ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव बन्द अवस्थामा रहेको एउटा भाडाको कारभित्र जलेको अवस्थामा भेटिएको बताइएको छ ।

२ हप्ताअगाडि जनवरी ३१ मा अमेरिकामै छोरी अन्माएका मैनालीले २ फेब्रुअरीमा कार भाडामा लिए । घरअगाडिको पार्कमा राखिएको त्यही कारभित्र आज बिहान ६ बजे उनको शव भेटिएको हो । त्यहाँस्थित एक नेपालीले बताएअनुसार पारिवारिक कलहकै कारण उनले आत्महत्या गरेका हुन् ।

प्रतक्ष्यदर्शी एक नेपालीकाअनुसार प्रहरीले मैनालीको शव गाडीभित्र पूरै जलेको अवस्थामा फेला पारेको हो । घरमा पारिवारिक तनाव भएपछि उनी सोमबार भाडाको कार लिएर उक्त पार्कमा पुगेका थिए । भाडामा लिएको उक्त कार पनि जलेको छ । प्रहरीले कार बन्द गरेर मैनालीले आफ्नो शरीरमा आगो लगाएको प्रारम्भिक अनुमान गरेको छ ।

काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत सिपाली गाउँमा जन्मिएर काठमाडौँ घट्टेकुलोमा घर भएका मैनाली सन् २००६ मा अमेरिका पुगेका थिए । सपरिवार नर्थ क्यारोलाइनामा बस्दै आएका थिए उनी । दुई सय छ पटकभन्दा बढी रक्तदान गरेका मैनालीको सामाजिक छवि पनि राम्रो थियो ।

पारिवारिक पृष्ठभूमि र अहिलेको अवस्था हेर्दा आर्थिक कारणले मैनालीलाई आत्महत्या गर्नुपर्ने अवस्था थिएन । तर, पारिवारिक कलहका कारण ‘डिप्रेसन’मा पुगेका उनले शरीरमा आगो लगाएर प्रण त्यागेका छन् ।

आत्महत्याअघि उनले लेखेको एउटा फेसबुक स्टाटसमा पनि श्रीमतीका माइती पक्षको अपमान सहन नसकेर यस्तो निर्णयमा पुगेको उल्लेख छ । श्रीमती तारा कोइरालालाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा सालो र उनकी श्रीमतीलाई दोषी देखाइएको छ । श्रीमतीको अगाडि उनीहरुले आफूलाई गरेको व्यवहार असह्य भएपछि आत्महत्याको निर्णयमा पुगेको उनले बताएका छन् ।

मैनालीको शव नर्थ क्यारोलिनास्थित प्रहरीको टोलीले पोस्टमार्टमका लागि लगेको छ । मैनालीको निधन भएको पुष्टिसहितको पत्र प्रहरीले परिवारलाई बुझाइसकेको छ ।


प्रतिकृया दिनुहोस्