Hamro Sanchar

एक सय २१ वर्षको उमेरमा बाटुलीको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, २० गते


त्रिशूली, माघ २०- ककनी गाउँपालिका–८ निवासी एक सय २० वर्षिया बाटुली लामिछानेको आज निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाँईले जानकारी दिए । उनका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

ककनी गाउँपालिका र उनको संरक्षण तथा रेखदेखमा सक्रिय बाला फाउन्डेसनले उनको घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो ।

बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । उनलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने दागबत्ती दिए । नेपाली नागरिकताको प्रमाणपत्रअनुसार बाटुली लामिछानेको जन्म विसं १९५९ चैत १० गते भएको हो । उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि बाला फाउन्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो ।


प्रतिकृया दिनुहोस्