Hamro Sanchar

कुटिए गाउँपालिका अध्यक्ष, भाँचिदिए औंला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, ७ गते


जनकपुरधाम, माघ ७- धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि कुटपिट भएको छ । गाउँपालिका अध्यक्ष यादवले आफूलाई मधेश प्रदेश ०२–००१ च १०४७ नम्बरको स्कारपियो चढेर आएको ६/७ जनाको एक समूहले आक्रमण गरेको जानकारी दिए ।

घटनामा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१९ बेङ्गासिहपुरका अशोक राउत र वडा नम्बर ७ का मियाज अलिलाई पक्राउ गरेको हो ।

राति गाउँपालिका अध्यक्ष यादव जनकपुरधामस्थित जिरोमाइलमा रहेको आफ्नो घर जाने क्रममा उनीमाथि जनकपुरस्थित तपसी चौकमा कुटपिट गरिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको गाडी कसको हो भन्ने खुलेको छैन । तर, उक्त गाडीको चालक अशोक राउत रहेको बुझिएको प्रहरीले जनाएको छ । गएराति उक्त गाडीमा सवार रहेका अन्य तीनजा भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘आफू बाहिरको काम सकाएर घर जाँदै थिए, बाटोमा अचानक उनीहरुले मेरो गाडीको सामने आफ्नो गाडी रोकेर गालीगलौज गर्न थाले । मैले वास्ता नगरी त्यहाँबाट अगाडी बढाए,’ यादवले भने,‘त्यहाँबाट थोरै दुरीमा मैले गाडी रोकेर फोनमा कुरा गर्न थाले पछि फेरि उनीहरु फर्केर आएर गालीगलौज गर्दै गाडीबाट बाहिर निकालेर कुटपिट गर्न थाले र मेरो मोवाइल पनि खोसेर लगे ।’

अध्यक्ष यादवको मोवाइल खोस्ने क्रममा उनको औँला भाँचिएको छ ।


प्रतिकृया दिनुहोस्