काठमाडौँ, पुस १७- कर्मचारीले नटेरेको भन्दै वनमन्त्री विरेन्द्र कुमार महतोले राजीनामा दिने तयारी गरिरहेको बताएका छन् । मन्त्री विरेन्द्र कुमार महतोले मन्त्रीकै कुर्सीमा बसेर यस्तो बताएका हुन । उनले कर्मचारीले नटेरेको र घुमाएको घुमाएकै गर्ने गरेको भन्दै अब एक्सनमा जाने कि राजीनामा दिएर हिँड्ने भन्नेबारेमा सोचिरहेको बताए ।
सांसद दीपक खड्का आफ्नो रिसोर्टसम्बन्धी फाइल ४ वर्षदेखि अड्किएको भन्दै आक्रोश पोख्न मन्त्रालयमा पुगेको बखत उनले आफ्नो निरीहता प्रकट गरेका हुन् ।
‘मैले एक्सन लिने वा राजीनामा दिनेबारे पनि सोचिरहेको छु। कर्मचारीले टेर्दैन भने म पिट्न जानु ? उसले साइन गरेपछि मैले साइन गर्ने हो । नियम नै त्यही छ’, उनले भने ।
उनले आफू मन्त्रालयमा आएदेखि नै खड्काको जस्तै धेरै समस्या देखिरहेको बताए । ‘यो मेरो लागि नयाँ प्रक्रिया होइन । ६ महिनादेखि यस्तै भइरहेको छ यो मन्त्रालयमा । किन भन्दा जसले लगानी गरेको हुन्छ, अन्तिम चरणमा फाइल रोकिएपछि पीडा हुन्छ नि’, खड्काको समर्थन गर्दै उनले भने, ‘उहाँजस्तो मान्छेलाई यस्तो छ भने अरुलाई कति पीडा हुन्छ भन्ने बुझ्न जरुरी छ ।’
दवाव दिएपछि सचिवले हस्ताक्षर गरिदिने र अरुलाई चाहिँ दुख दिने प्रवृत्ति रहेको उनले बताए । ‘सचिवजी यहाँ हुनुहुन्छ, मान्यज्यू आएर प्रेसर गर्नुभयो अब उहाँले साइन गर्नुहुन्छ । तर सर्वसाधारण जनता आएको भए उहाँको कुरा नसुनिकन तपाई भोलि आउनुस् भनेर चार वर्ष लाउँछ’, उनले भने, ‘कस्तो कर्मचारीतन्त्र छ ? मन्त्रीले रुलिङ गरेको कुरा सचिवले मान्दैन । सचिवले रुलिङ गरेको कुरा विभागले मान्दैन ।’ मन्त्रालयमा को ठुलो हो भन्ने नै आफूले बुझ्न नसकेको उनले बताए । ‘यहाँ के छ भन्दा मन्त्रालयमा को ठुलो भन्ने थाहा छैन । एउटा खबरदारले टिप्पणी उठाउने क्रममा उसले हुँदैन भनेपछि सचिवले साइन गर्दैन । अब को ठुलो ? मन्त्री ठूलो कि सचिव ठूलो म कन्फ्युज छु ।’
ब्युरोक्रेसीको मानसिकता नबदिएसम्म देशको विकास हुन नसक्ने उनले बताए । यद्यपि आफू सुधारमा लागेको र नसेको खण्डमा छाडेर जाने उनको भनाइ छ ।