काठमाडौं, पौस १६- चितवनको सहारा बचत र पोखराको सूर्यदर्शन सहकरीबाट दसौं करोड घोटाला गरेको बिषय सेलाउन नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बैंकको रकम अपचलनमा पनि मुछिएका छन् ।ती सहकारीबाट ५० हजार रुपैयाँभन्दा बढी सहकारी पीडितहरुको अर्बौं रुपैयाँ बचत हिनामिना भएको मुछिएपछि उनी विवादमा परेका थिए ।
सहकारी हिनामिना प्रकरणले लामिछानेलाई कहाँसम्म पुर्याउने हो त्यो त समयको गर्भमै छ । तर, उनै लामिछानेको जिम्मा जमानीमा केही बैंकबाट समेत करोडौँ रुपैयाँ ऋण अपचलन भएको अर्को तथ्य भेटिएको छ ।
ऋण अपचलनमा उनका ससुरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष समेत रहेका उद्धव पौडेल, श्रीमती निकिता लामिछाने र सालो निरक पौडेल मुछिएका छन् । उनको परिवारले काठमाडौंका विभिन्न ३ वटा बैंकको करोडौं ऋण अपचलन गरेको खुलेको छ ।
उनीहरुले २० करोडभन्दा बढी ऋण अपचलन गरेको घटना राष्ट्रबैंकको समेत अनुसन्धानको बिषय बनेको छ । दुई वटा ‘क’ वर्गका बैंक र एउटा ‘ख’ वर्गको बैंकबाट करिब २० करोड रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्य फेलापरेको हो ।
अनलाइन नेपाललाई प्राप्त प्रमाणअनुसार पछिल्लो समय उनीहरुले चावहिलस्थित गोपीकृष्ण कमर्स कम्प्लेक्स (जिकेसीसी) बनाउने नाममा ऋण अपचलन गरेको देखिन्छ । प्रभु बैंक, सिद्धार्थ बैंक र कामना सेवा विकास बैंकबाट रविको परिवारले ऋण अपचलन गरेको आरोप छ ।
उनीहरुले कुनै पनि बैंकलाई बुझाउनुपर्ने किस्ता तथा ब्याज बुझाएका छैनन् । जिकेसीसीका नाममा प्रभु बैंकबाट ८ करोडभन्दा बढी ऋण प्रवाह भएको छ । त्यस्तै सिद्धार्थ बैंकबाट १७ करोड ऋण प्रवाह भएको खुलेको छ भने कामना सेवा विकास बैंकबाट ५ करोडभन्दा बढी रकम प्रवाह भएको छ । ऋण लिएपछि बैंकलाई नियमित किस्ता तथा ब्याज नबुझाए पनि बैंकहरुले पौडेल परिवारको राजनीतिक प्रभावसँग डराएर सूचना निकाल्न समेत सकेका छैनन् ।
सिद्धार्थ बैंकले लामो समयदेखि ऋण थप्दै बसेको छ भने कामना सेवा बैंकले ब्याज र किस्ता रकम नपाएको बर्ष दिन पुग्न लाग्दा समेत पाउन सकेको छैन । सर्वसाधारणको बचतलाई राष्ट्रबैंकमा प्रोभिजनिङ गरेर बैंकले ठूलो बद्मासी गरेको छ ।
आश्चर्य त के छ भने सुशासनका चर्का कुरा गर्ने रवि लामिछानेको परिवार नै यो ऋण अपचलनमा मुछिएको छ । रास्वपाका सभापति लामिछाने नै यो ऋण अपचलनमा मुख्य दोषी रहेको बैंक स्रोत बताउँछ । उनकै अनुहारलाई मात्रै आधार मानेर बैंकहरुले यति धेरै ऋण दिएका हुन् ।
उनी जमानी बसेका कारण बैंकसमेत हच्किएका छन् । अन्य सर्वसाधारणको भए किस्ता नतिरेको ३ महिनामै पत्रिकामा सूचना निकालेर बद्नाम गर्न लागिपर्ने र धितो लिलाम गर्न तम्सिने बैंकहरु रवि र उनको ससुराली परिवार जोडिएको यो प्रकरणमा भने चुपचाप छन् ।
स्रोतका अनुसार उद्धवका छोरा निरक पौडेल समेत यो ऋण काण्डमा संलग्न छन् । उनले नै उक्त प्रोजेक्ट देखाएर बैंकहरुसँग ऋण लिएका थिए । प्रतिक्रियाका लागि निरकलाई पटक पटक सम्पर्क गर्ने कोसिस गरेका थियौं । तर, उनी सम्पर्कमा आउनै चाहेनन् ।
यस विषयमा प्रतिक्रिया लिन लामिछानेको नम्बरमा पटक पटक सम्पर्क गर्दा उनले पनि फोन उठाएनन् । उनका पीए प्रकाश सिग्देललाई सम्पर्क गर्दा उनले दीपक बोहरालाई बुझ्न भन्दै बोहराको नम्बर दिए । बोहरालाई सम्पर्क गर्दा यो विषय उठाउने वित्तिकै तपाईंको नाम र मिडियाको नाम एसएमएस गर्नुस् हामी फोन गर्छौं भन्दै टार्ने काम गरे ।
निकिता पौडेललाई सम्पर्क गर्दा उनले भने उक्त कारोबार आफूले गरेको नभई भाइले गरेको बताइन् । भाइ बाहिर रहेका कारण सम्पर्क नभएको उनको भनाइ थियो । उनले आफूहरुले नियमित किस्ता र ब्याज बुझाएको समेत दाबी गरिन् । निकिताले कुनै पनि बैंकमा किस्ता बाँकी नरहेको दाबीसमेत गरेकी थिइन् ।
राष्ट्र बैंकलाई ढाँट्दै बैंक
बैंकहरुले राष्ट्र बैंकलाई समेत गुमराहमा राखेर रविको परिवारलाई पोस्दै आएको छ । सर्वसाधारणको बचत रकमलाई राष्ट्र बैंकमा प्रोभिजनिङ गर्दै आइरहेको छ । दुर्गा प्रसाइँको बाटोमा हिडेका रवि लामिछानेबारे राष्ट्रबैंक समेत मौन छ ।
यस विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टसँग प्रतिकृया लिन खोज्दा उनले लिखित रुपमा सूचना माग गर्न आग्रह गरे । ऋणीहरुले कति महिनासम्म आफूले ऋण लिएको बैंकमा निरन्तर किस्ता रकम नतिरे बैंकले लिलामीको प्रक्रिया सुरु गर्नुपर्छ ? भन्ने अनलाइन नेपालको प्रश्नमा उनले केस पढेपछिमात्रै भन्न सकिने बताए । उनले भने–‘केस के हो ? त्यसको डिटेलसहित लिखित सूचना माग गर्नुस्, हामी उपलब्ध गराउँछौं ।’ स्रोत : अनलाइन नेपाल