Hamro Sanchar

महिलालाई ३ दिनसम्म पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १० गते


सिन्धुली, पुस १०- लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ ।

कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी एक महिलालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

‘बाँधेर राखेकै अवस्थामा हामीले उद्दार गरेर ल्याएर सेफ होममा राखेका छौं, गाउँबाट उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेका छौं’, सिलवालले भने, ‘उद्दार गरेर ल्याउँदा उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो, शरीरमा निलडामहरु थिए ।’

प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।

त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालको भनाइ छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।

सिन्धुलीका एक प्रहरी अधिकृतका अनुसार, उनले अदालतमा गएर न्यायाधीश र अरुसँग भेटेर आफ्नो कुरा राख्ने बताएकी थिइन् । त्यसपछि श्रीमान् सन्तोष समेतले अदालत परिसरबाटै आफूलाई अपहरण गरेर लगेको उनको भनाइ थियो । ‘मैले काठमाडौं जान्छु भनेर रोइकराइ गर्दा पनि जबरजस्ती भ्यानमा हालेर लगेका थिए’, उनले भनेकी थिइन् ।

प्रहरीका अनुसार, यो घटनामा पक्राउ परेकामध्ये कोही स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत छन् । यद्यपि, हालसम्म प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । थप केही व्यक्ति छानबिनको दायरामा रहेको बताउँदै प्रहरीले उनीहरुको विवरण खुलाएको छैन ।


प्रतिकृया दिनुहोस्