गजा/तेल अविभ, मंसिर १६- ७ दिनको युद्धविरामपछि इसराइलले गजामा पुनः आक्रमण सुरू गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दोस्रो पटक थप गरिएको युद्धविरामको अवधि सकिएलगत्तै शुक्रबार गजामा इसराइलले आक्रमण सुरू गरेको हो ।
गजास्थित खान युनिसको पूर्वी क्षेत्रहरूमा बमबारीको आवाजसँगै आकाशमा धुवाँको मुस्लो देखिएको रोयटर्सले उल्लेख गरेको छ ।
इसराइली सैनिकले पनि एक्स (ट्वीटर)मार्फत गजामा हमासलक्षित कारबाही गरिएको पुष्टि गरेको छ । उसले हमासका २ सय लडाकुलाई लक्षित गरी जल, स्थल र आकाशबाट आक्रमण गरेको बताएको छ ।
शुक्रबार इसराइली आक्रमणबाट गजामा १८४ जनाको मृत्यु, ५८९ जना घाइते र २० भन्दा बढी घर ध्वस्त भएको गजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
पहिलो चार दिनको युद्धविरामपछि हमासले प्रत्येक दिन १० जना बन्धक मुक्त गर्ने र इसराइलले एक दिन युद्धविराम लम्ब्याउने भनेको थियो । त्यसो नहुँदा इसराइलले आक्रमण गरेको हो ।
इसराइल-हमास लडाइँको ४८ दिनपछि नोभेम्बर २४ मा युद्धविराम भएको थियो ।
त्यसयता हमासले बन्धक बनाएका २३९ जनामध्ये १०४ बन्धक मुक्त गरेको छ । बदलामा इसराइलले आफ्नो देशमा रहेका २४० प्यालेस्टिनियन कैदीलाई जेलमुक्त गरेको छ ।
इसराइल-हमासबीच महत्त्वपूर्ण मध्यस्तकर्ताको भूमिका खेलिरहेको कतारले युद्धविरामको प्रयास अझै जारी रहेको बताएको छ ।