
काठमाडौं, मंसिर १३- रूसको मस्कोस्थित नेपाली दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर तीन नेपालीको मृत्यु भएको जानकारी दिएको छ ।
दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जा, पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, दोलखा, मेलुङ गाउँपालिका–६ का राजकुमार रोक्का र इलाम नगरपालिका–९ का गंगाराज मोक्तान छन् ।
उनीहरूको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको दूतावासले कन्सुलर सेवा विभागमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।
दूतावासले कन्सुलरलाई पठाएको पत्रमा मृतकहरूको शव व्यवस्थापनलगायत कार्यमा परिवारसँग समन्वय गर्नुपर्ने छ । शवको यथाशीघ्र व्यवस्थापनका लागि निजहरूको परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिनसमेत निर्देशनअनुसार अनुरोध छ ।
उक्त पत्रमा उनीहरूको जारी रूस-युक्रेन युद्धमै मृत्यु भएको हो या अरू कुनै कारणले भन्ने चाहिँ खुलाइएको छैन ।
रूसको भाडाको सेना भएर युक्रेन युद्धमा सामेल भएका दोलखा, मेलुङ गाउँपालिका–६ का राजकुमार रोका पूर्वप्रहरी हुन् । उनले ६–७ वर्ष प्रहरी सेवामा बिताएका थिए ।
उनीहरु एजेन्टमार्फत् रूसको भाडाको सैनिक (वाग्नर) समूहमा भर्ती हुन पुगेका हुन् ।
३४ वर्षीय राजकुमारको एक छोरा र छोरी छन् । उनी तीन सन्तानमध्ये कान्छा हुन् ।