
काठमाडौँ, कात्तिक २२- पत्रकारहरुलाई गैरकानुनी रुपमा निष्काशन गरेको विरुद्ध कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडी धर्नामा बसेका पत्रकारमाथि आक्रमण प्रयास भएको छ । बुधबार नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्दोलनको कार्यक्रम भइरहेका बेला एक अपरिचित युवाले आक्रमण प्रयास गरेका हुन् ।
ती युवाले कार्यक्रम सञ्चालन गरिरहेका नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका महासचिव रोयल आचार्यमाथि ढुङ्गा प्रहार गरेका थिए । आचार्य आफूलाई हानिएको ढुङ्गा छलेपछि पत्रकार टिकाराम प्रधानलाई लागेको थियो । पत्रकार प्रधान सामान्य घाइते भएका छन् ।
घाइते पत्रकार प्रधान कान्तिपुरबाट अन्यायमा परेका पत्रकार हुन् । आज पत्रकार महासंघको केन्द्रीय समितिको निर्णय अनुसार एसोसिएट प्रदेश समिति र प्रतिष्ठान प्रदेश समितिको संयोजनमा कानुन विपरीत कान्तिपुरबाट निकालिएका पत्रकारहरुको न्यायका लागि धर्ना कार्यक्रम आयोजना गरिएको थियो ।
कान्तिपुर दैनिकले गैरकानुनी रुपमा पत्रकार निष्कासन तथा सरुवा गरेको विषयमा नेपाल पत्रकार महासंघले कान्तिपुर दैनिकको कार्यालय अगाडि आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।