काठमाडौं, कात्तिक १७- वैदेशिक रोजगारका लागि कुवेत पुगेर समस्यामा परेका ९ जना नेपाली कामदार सहमतिपछि काममा फर्किएका छन् । बुधबार साँझ कामदारलाई कुवेत पठाउने म्यानपावर कम्पनीले बिगतमा कम्पनीले कामदारसँग गरेको लिखित करार सम्झौता बमोजिमको तलब, सेवा, सुबिधा, तोकिए बमोजिमको काम दिलाउने सम्झौता गरेपछि उनीहरु काममा फर्किएका हुन् ।
३ महिना पहिले कुवेत पुगेका ९ जना नेपाली कामदारलाइ कम्पनीले क्याम्पबाट निकाले पछि त्यहाँस्थित नेपाली राजदूतावासको शरणमा पुगेका थिए ।
काठमाडौंको बसुन्धरास्थित ‘राज ग्रुप अफ कम्पनी’ मार्फत कुवेतको तौसिल (Tawseel company) नामक कम्पनीमा पुगेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-५ का सुर्य आले मगर, रुपन्देही भैरहवाका मोहन लोहार, बारा निजगढका जनकलाल घलान, काभ्रेपलाञ्चोक बनेपा २ का नवराज दाहाल, उदयपुर चौदण्डी १ का भुपेन्द्र कोइराला, खोटाङ हलेसीका दिपक राई, ललितपुर ५ का किरण बहादुर थिंग, उदयपुर १ का रत्नबहादुर मगर र मकवानपुर हेटौडाका सम्शेर लामा थिंग अलपत्र परेका थिए ।
राजदुतावासको रोहबरमा भएको उक्त सम्झौतामा म्यानपावर कम्पनीका तर्फबाट टिन्डुप तामाङ शेर्पाले सम्झौता बिपरित काम भएको खण्डमा नियमानुसार क्षतिपूर्ति दिई/दिलाई कामदारलाई नेपाल फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार ड्राइभर भनेर कुवेत पुगेपनि कम्पनीले सप्लाई कम्पनीमा दैनिक १८ घण्टा काममा लगाएको भन्दै उनिहरु राजदूतावास पुगेका थिए ।
सम्झौता पत्रमा ८ घण्टाको १४० केडी रहेको छ । भने खाना र बस्नको व्यवस्था कम्पनीले गर्ने भनिएको छ ।
प्रतिव्यक्ति २ लाखदेखि २ लाख ३० हजारसम्म म्यानपावरलाई बुझाएर ३ महिना पहिले कुवेत पुगेका उनीहरुलाई शनिबार राती कम्पनीले क्याम्पबाट निकालिदिएको थियो । त्यसलगत्तै पिडितहरु कुवेतस्थित नेपाली राजदुतावास पुगेका थिए । उनीहरु सोहि दिनदेखि दूतावासको गेटमै धर्ना बसेका थिए।
म्यानपावरले तौसिलको कम्पनी भएकाले ठुलो होटलमा कार ड्राइभरको काम गर्ने भनेर पठाएको उनीहरुको भनाइ छ । तर आफुहरुलाई सप्लाई कम्पनीमा दैनिक १८ घण्टा काममा लगाएको र यस्तो अप्ठ्यारो काम गर्न सक्दैनौ भन्दा कम्पनीको सुपरभाइजरले त्यहाँको सिभिल आइडी, लाइसेन्स, एटिएम् कार्ड खोसेर क्याम्पबाट निकालिदिएको थियो ।
यो पनि पढ्नुहोस्- कुवेतमा ९ जना नेपाली कामदार अलपत्र, बसे दूतावासको गेटमै धर्ना