Hamro Sanchar

कुवेतमा ९ जना नेपाली कामदार अलपत्र, बसे दूतावासको गेटमै धर्ना

प्रदिप नेपाली प्रकाशित : २०८० कात्तिक, १५ गते


काठमाडौं, कात्तिक १५- वैदेशिक रोजगारका लागि कुवेत पुगेका ९ जना नेपाली कामदार अलपत्र परेका छन् । ३ महिना पहिले कुवेत पुगेका नेपाली कामदारलाइ कम्पनीले क्याम्पबाट निकाले पछि अलपत्र परेका हुन् ।

काठमाडौंको बसुन्धरास्थित ‘राज ग्रुप अफ कम्पनी’ मार्फत कुवेतको तौसिल (Tawseel company) नामक कम्पनीमा पुगेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-५ का सुर्य आले मगर, रुपन्देही भैरहवाका मोहन लोहार, बारा निजगढका जनकलाल घलान, काभ्रेपलाञ्चोक बनेपा २ का नवराज दाहाल, उदयपुर चौदण्डी १ का भुपेन्द्र कोइराला, खोटाङ हलेसीका दिपक राई, ललितपुर ५ का किरण बहादुर थिंग, उदयपुर १ का रत्नबहादुर मगर र मकवानपुर हेटौडाका सम्शेर लामा थिंग अलपत्र परेका हुन् ।

उक्त कम्पनीमा उनीहरु कार ड्राइभर भनेर कुवेत पुगेका थिए तर कम्पनीले सप्लाई कम्पनीमा दैनिक १८ घण्टा काममा लगाएको पिडितहरुको भनाइ छ ।

सम्झौता पत्रमा ८ घण्टाको १४० केडी रहेको छ ।

९ जनामध्ये सप्लाई कम्पनीले २ जनालाई अझै काममा लगाएको छैन । काममा लगाएकालाई पनि मासिक १२० केडीमा तलब त्यसमा पनि महिनामा ४५० केडीको टार्गेट दिएर लगाएको थियो । कम्पनीले दिएको टार्गेट पुर्याउन नसके बेसिक तलबबाट काट्ने गरेको थियो ।

प्रतिव्यक्ति २ लाखदेखि २ लाख ३० हजारसम्म म्यानपावरलाई बुझाएर ३ महिना पहिले कुवेत पुगेका उनीहरुलाई ४ दिनअघि कम्पनीले क्याम्पबाट निकालिदिएको थियो । त्यसलगत्तै पिडितहरु कुवेतस्थित नेपाली राजदुतावास पुगेका थिए । उनीहरु सोहि दिनदेखि दूतावासको गेटमै धर्ना बसिरहेका छन् । म्यानपावरले तौसिलको कम्पनी भएकाले ठुलो होटलमा कार ड्राइभरको काम गर्ने भनेर पठाएको उनीहरुको भनाइ छ । तर आफुहरुलाई सप्लाई कम्पनीमा दैनिक १८ घण्टा काममा लगाएको र यस्तो अप्ठ्यारो काम गर्न सक्दैनौ भन्दा कम्पनीको सुपरभाइजरले त्यहाँको सिभिल आइडी, लाइसेन्स, एटिएम् कार्ड खोसेर क्याम्पबाट निकालिदिएको पिडितहरुले बताए ।

कम्पनीले काम नगरेको खण्डमा १२८० केडी दिएर जान वा त्यसो नगरे जेल हाल्नेसम्मको धम्कि दिएको उनीहरुको भनाइ छ ।

म्यानपावर कम्पनीलाई आफुहरुले आएदेखि नै समस्या सुनाउदा कुनै प्रतिक्रिया नदिएको पिडितहरुले बताए ।

उनिहरु अहिले न भोक न निन्द्राको अवस्थामा रोडमै दिन कटाईरहेका छन् । नेपालीहरुले आज बिहानसम्म खानाको व्यवस्था गरिदिए पनि आज बेलुका खाने र बस्ने टुंगो नभएको उनीहरुले चिन्ता व्यक्त गरे । दुतावासको गेट अगाडी भर्याङमुनि बसिरहेका उनीहरुलाई दुतावासका कर्मचारीले यहाँ बस्ने व्यवस्था नभएको भन्दै निस्कन दबाब दिईरहेको पिडितहरुको भनाइ छ ।

”हामीलाई होटलमा कार ड्राइभरको काम भनेर यहाँ ल्याइयो । अहिले सप्लाई कम्पनीमा दैनिक १८ घण्टासम्म काममा जोतिनु पर्यो । यहाँ आएदेखि नै म्यानपावरलाई समस्या सुनायौ तर कुनै प्रतिक्रिया दिएन, सम्पर्कमा आएन । ४ दिनदेखि कष्टकर जीवन बिताइरहेका छौं, हाम्रो साथमा कोहि छैन । समस्याको समाधान होलाकी भनेर दुताबास आएका हौँ तर दुताबासका कर्मचारी यहाँबाट निस्केर जाउ भन्छन्, हामी कहाँ जाने ? आजसम्म कम्पनीको तर्फबाट कोहि प्रतिनिधि आएर छलफल भएको छैन । कमाउन आएका हामी यहिँ अलपत्र परेर बस्नु पर्यो । कहिले समस्याको समाधान निस्कने हो थाहा छैन । एनआरएनएको अध्यक्ष ज्यु पनि आउनु भएको थियो । समस्या समाधान होला कि भन्ने आशमा छौं” पिडितहरु भन्छन् ।

दुताबासले आज साँझ पिडितहरु सहित कुवेतको एजेन्टसँग छलफल गरेपनि निष्कर्ष निस्केको छैन । पिडितहरुले आफुहरु सम्झौता अनुसारको काम र तलब पाए कम्पनी फर्केर काम गर्ने बताएका थिए । तर एजेन्टले आफु कुवेती नागरिकसँग झुक्न नसक्ने भएकाले सम्झौता अनुसारको काम दिन नसक्ने बताएका थिए । बरु आफु जेल बस्न तयार रहेको उनको भनाइ थियो ।

छलफल पश्चात् राजदुताबासले परिक्षणको लागि एक महिना कम्पनीमा गएर काम गर्न सुझाव दिएका थिए तर पिडितहरुले आफुहरुको समस्या जस्ताको त्यस्तै लिएर फेरी काममा फर्कन नसक्ने बताएका थिए ।

हेर्नुहोस् सम्झौता पत्र 


प्रतिकृया दिनुहोस्