काठमाडौं, असोज २५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न कार्यक्रम गरेर ‘राष्ट्रिय शिक्षा दिवस’ मनाएको छ । नगरपालिकाको शिक्षा शाखाले बुधबार आनन्द भैरव माध्यमिक विद्यालयमा बृहत कार्यक्रमको आयोजना गरि राष्ट्रिय शिक्षा दिवस’ मनाएको हो ।
”समावेशी र सीपमुलक शिक्षा : स्वदेशमै युवा, राष्ट्रको इच्छा” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बिभिन्न सांस्कृतिकसहित पुरस्कार वितरण, एसइई सम्मान, शिक्षक सम्मान एवम् बिबिध कार्यक्रम रहेको थियो ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता, आनन्द भैरव माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा शिक्षा दिवस मूल समारोह समितिका संयोजक शंकर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका मेयर एवम् नगर शिक्षा समिति अध्यक्ष उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयका सह-सचिव हरि प्रसाद लम्साल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नन्दलाल पौडेल, नेकपा एमाले बागमती प्रदेश सदस्य समिति सदस्य मणिराम फुयाल, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कबिर शर्मा फुयाल र नेकपा माओवादी केन्द्र जिल्ला काठमाडौं सचिव महेश्वर फुयाल बिशेष अथिति रहेका थिए भने, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख गोबिन्द प्रसाद शर्मा, विभिन्न राजनीतिक दलका प्रमुख, नगर शिक्षा समिति सदस्य, नगरसभा सदस्य, ९ वटै वडाका अध्यक्षहरु र वडासदस्यहरु अतिथिका रुपमा रहेका थिए ।
वडा नम्बर ६ का वडासदस्य तथा नगर शिक्षा समिति सदस्य कपिल खनालद्धारा संचालित कार्यक्रममा नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख गोबिन्द प्रसाद शर्माले कार्यक्रमको उदेश्यसहित स्वागत मन्तब्य दिएका थिए ।
कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका आधारभूत तह १ देखि ५ सम्मका विद्यार्थीबीच भएको चित्रकला प्रतियोगिताका बिजेताहरु प्रथम हुनेलाई ५ हजार, द्धितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई २ हजार र सान्त्वना हुनेलाई १ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो भने निबन्ध लेखन प्रतियोगिताका बिजेता छात्रछात्रालाई पनि सोहि अनुसारको नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहराले कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत
यस्तै सामुदायिक र संस्थागत विद्यालयका माध्यमिक तह ९ देखि १२ सम्मका विद्यार्थीबीच भएको हाजिरी जवाफ प्रतियोगिताका बिजेताहरुलाई प्रथम हुनेलाई ५ हजार, द्धितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई २ हजार र सान्त्वना हुनेलाई १ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी नगरस्तरीय आधारभूत तहको अन्तिम परिक्षा (BLE)मा उपल्लो जिपिए प्राप्त गर्ने सामुदायिक विद्यालयका र संस्थागत विद्यालयका ५ जना विद्यार्थीलाई जनही एक थान ट्याब्लेट र ५ हजार नगद पुरस्कार, माध्यमिक तहको अन्तिम परिक्षा एसइईमा उच्चतम जिपिए ल्याउने विद्यार्थीलाई जनही एक थान ट्याब्लेट र ५ हजार नगद पुरस्कार, माध्यमिक तह (कक्षा १२)को अन्तिम परिक्षामा उच्चतम जिपिए ल्याउने विद्यार्थीलाई जनही एक थान ट्याब्लेट र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै माध्यमिक तहको अन्तिम परिक्षा एसइईमा नगर मापदण्डअनुसार उत्कृष्ट जिपिए ल्याउन सफल र माध्यमिक तहको अन्तिम परिक्षा एसइईमा राष्ट्रिय मापदण्डअनुसार ५० जनाभन्दा बढी विद्यार्थी सहभागी गराई उत्कृष्ट जिपिए ल्याउन सफल सामुदायिक र संस्थागत विद्यालयलाई नगद १ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । भने नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत रही विभिन्न आन्तरिक प्रयोगात्मक परिक्षा र कार्यसम्पादन मूल्यांकनबाट बढुवा हुने शिक्षकहरुलाई सम्मानपत्र वितरण गरिएको थियो ।
यो पनि पढ्नुहोस्- कागेश्वरीका प्रत्येक सामुदायिक विद्यालयलाई एक-एक विधामा प्राविधिक क्षेत्रमा लैजान्छौ- मेयर कार्की
यसैगरी २०७८/७९ सालमा अवकाश प्राप्त शिक्षक तथा कर्मचारीहरुलाई जनही ५ हजारसहित दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरिएको थियो । भने सामुदायिक विद्यालयमा स्थायी शिक्षकका रुपमा कार्यरत रही २०७८ सालदेखि हालसम्म उमेरहद ६० बर्ष पुगी अनिवार्य अवकाश भएका शिक्षकलाई सम्मान गरिएको थियो ।
सम्मानित विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई प्रमुख अतिथि, बिशेष अथिति तथा अथितिहरुले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि, बिशेष अथिति तथा अथिति, पुरस्कृत विद्यार्थीको तर्फबाट एक जना, एसइईमा उत्कृष्टता हासिल गर्ने विद्यालयको प्रधानाध्यापक तर्फबाट, हालै बढुवा हुने सम्मानित शिक्षकको तर्फबाट विद्यालयका एक शिक्षक, सम्मानित सेवा निवृत्त शिक्षकको तर्फबाट एक जनाले मन्तब्य दिएका थिए ।