Hamro Sanchar

कागेश्वरी मनोहराले कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

प्रदिप नेपाली प्रकाशित : २०८० असोज, २४ गते


Advertisement

काठमाडौं, असोज २४- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कागेश्वरी मनोहरा नगरपालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाउनु पर्ने बताएका छन् ।

राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर नगरपालिकाको शिक्षा शाखाले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई नगरपालिकाले निःशुल्क गर्नुपर्ने बताएका हुन् ।

उनले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताए । आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषद्मा पनि राखिरहेको उनले बताए । शिक्षा र स्वास्थ्य जनताको आधारभुत आवश्यकता भएको उल्लेख गर्दै यसको प्रगति र व्यवस्थापन बिना राष्ट्रको विकास सम्भव नहुने उनले बताए ।

मन्त्री बस्नेतले भने, ‘कागेश्वरीका मेयर काम गर्ने हुटहुटी भएको हुनुहुन्छ । उहाँको काम गर्ने शैली तीब्र गतिमा छ । शिक्षा र स्वास्थ्य आधारभुत आवश्यकता हो जनताको । यसको विकास बिना, यसको प्रगति बिना, यसको व्यवस्थापन बिना विकास सम्भव छैन व्यक्तिदेखि राष्ट्रसम्मको । कागेश्वरीमा १२ कक्षासम्म निशुल्क बनाउने भने नगरपालिकालाई धेरै भार पर्ने अवस्था पनि देखिएन । बार्षिक २ करोड रकम भए पुग्ने देखियो । यस कार्यमा लाग्न अनुरोध गर्छु । यो एउटा क्रान्तिकारी कदम पनि हो ।’

उनले आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि १६ वर्षदेखि मन्त्रालयमा अल्झिएर बसेका विभिन्न रणनीतिहरु पास गरेको पनि बताए ।

‘म आउनुभन्दा अगाडी १६ वर्षदेखि अल्झिएर बसेका विभिन्न रणनीतिहरु पास भएका थिएनन् वर्षौदेखि थन्किएर बसेकाहरु अब हामीले विभिन्न कार्ययोजना, रणनीति बनाएर अगाडी बढ्नका लागि मन्त्रिपरिषद्ले हामीलाई सहज बनाइदिएको छ । म आएपछि सबै खालका रणनीतिहरु पनि पास गरिसकेको अवस्था हो । त्यसकारणले हिजोको पुरातन शैली भन्दापनि अब हामी नयाँ रणनीति बनाएर कसरी अगाडी बढ्नुपर्छ ।’ उनले भने, अहिले म कक्षा १२ सम्म निःशुल्क पढाइ हुनुपर्छ । राज्यले जिम्मा लिनुपर्छ कक्षा १२ सम्मको पढाइ भनेर मैले धेरै वर्ष अगाडीदेखि शुरु गरेको छु । मैले सिन्धुपाल्चोकको ३ वटा पालिकाहरुबाट १२ कक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको एक वर्षभन्दा बढी भइसक्यो । देशव्यापी रुपमा यो निःशुल्क हुनुपर्छ भन्ने लाइनमा म काम गरिरहेको छु । म संसदमा पनि बोलेको छु । मन्त्रिपरिषद्मा पनि कुरा राखेको छु । हामी शिक्षा र स्वास्थ्य संवेदनशील क्षेत्रमा काम गरिरहेका छौँ ।’

मन्त्री बस्नेतले चिकित्सकहरु पनि पूर्वशर्त बमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताए । उनले विभिन्न बाहानाबाजी गरेर चिकित्सकहरु सुविधासम्पन्न ठाउँमा बसिरहने प्रवृत्ति रहेको उल्लेख गरे ।

मन्त्री बस्नेतले सरकारले कडाइ गरेका कारण अहिले भने दुर्गम ठाउँमा चिकित्सकहरु जाने गरेका बताए ।

केहि समयभित्र चिकित्सा शिक्षा विधेयक संशोधन गरेर स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने बताएका छन् ।

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि चिकित्सा शिक्षा विधेयक बाधक रहेको बताए ।

‘मैले चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्छ भनेर अहोरात्र बोलिरहेको छु’, उनले भने, ‘प्रकिया पनि अगाडि बढाउँदै आएको छु ।’
मन्त्री बस्नेतले भने, ‘मैले यो कुरा प्रधानमन्त्रीसँग पनि राखेको छु र उहाँ पनि यसलाई गम्भीर विषय भएको भन्दै अगाडि बढाउन सकारात्मक हुनुहन्छ ।’

उनले अस्पतालहरूमा दरबन्दी एक चौथाइमात्रै रहेको हुँदा एक जना चिकित्सकले चार जना बराबर काम गरिरहनु परेको पनि बताएका छन् ।

मन्त्री बस्नेतले विपन्नहरूका लागि देशव्यापी रूपमा नि:शुल्क उपचारको सुविधा गराउन चाहेको पनि उल्लेख गरेका छन् ।

प्रभावकारी स्वास्थ्य सेवाका लागि दक्ष जनशक्ति, आधुनिक औजार उपकरण र सुविधा सम्पन्न भौतिक संरचना अपरिहार्य रहेको भन्दै त्यसको परिपूर्तिका आफू लागिपरेको उनले बताएका छन् ।

मन्त्री बस्तेतले निजी अस्पतालले दश प्रतिशत बेड पूर्ण नि:शुल्क नगरे अस्पतालको नवीकरण नहुने र दर्ता खारेज हुने बताएका छन् । उनले गरिब तथा विपन्न समुदायका लागि निजी अस्पतालहरूले अनिवार्य रूपमा नि:शुल्क बेड छुट्याएर उपचार गर्नुपर्ने बताएका छन् ।

नगरपालिकाको शिक्षा शाखाले आनन्द भैरव माध्यमिक विद्यालयमा पुरस्कार वितरण, एसइई सम्मान शिक्षक सम्मान एवम् बिबिध कार्यक्रम गरेको थियो ।


प्रतिकृया दिनुहोस्