काठमाडौं, कात्तिक ३०- डेंगु संक्रमणले देशभरका सबैजसो जिल्लालाई प्रभावित बनाएको छ । त्यसको प्रभाव काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पनि परेको छ ।
डेंगु रोकथामका लागि नगरपालिकाले गत साउनको पहिलो हप्ताबाटै ‘खोज र नष्ट गर’ अभियान संचालन गरेको थियो । स्वास्थ्य शाखा, नगर अस्पताल, नगरभित्रका विद्यालयलगायत विभिन्न संस्थासँग समन्वय गरेर नगरपालिकाले ९ वटै वडामा सरसफाइसँगै जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो ।
तर यस क्षेत्रमा डेंगुको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । नगरपालिकामा पछिल्लो भदौ र अशोज महिनाको तुलनामा कात्तिकमा डेंगुका बिरामी बढेको पाइएको हो ।
नगर अस्पतालका निमित्त मेडीकल सुपरिटेन्डेन डा. सन्तोष रम्तेलकाअनुसार कात्तिक महिनाको अन्तिम सातासम्म नगर अस्पतालमा मात्रै १४३ जनालाई डेंगु संक्रमण देखिएको छ । यसबाहेक नगरपालिकाको आलापोट स्वास्थ्य चौकी र गोठाटार स्वास्थ्य चौकी गरि १८५ जनामा डेंगुका बिरामी फेला परेका थिए । यो संख्या हालसम्मकै बढी हो ।
डा. रम्तेलकाअनुसार कात्तिक महिनामा कम्तिमा ९ हजारलाई सेवा प्रदान गरिएको छ । जसमध्ये ३० देखि ३५ प्रतिशत बिरामी अर्थात् ३ हजारभन्दा बढी ज्वरोका बिरामी उपचारका निम्ति आएका थिए । तीमध्ये ४२३ जनालाई डेंगुको आशंकामा ल्यावमा पठाउदा २८३ जनालाई डेंगु नेगेटिभ देखिएको हो ।
नगर अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद पौडेलकाअनुसार भदौ महिनामा १६७ वटा डेंगुको परिक्षणमा १४ वटा पोजेटिभ र १५३ नेगेटिभ, अशोजमा ४२३ जनाको परिक्षणमा १४० वटा पोजेटिभ र २८३ नेगेटिभ देखिएको थियो । हिउँद महिना सुरु भएपछि डेंगु रोग कम हुँदै जानुपर्नेमा वातावरणीय परिवर्तनले यो रोग अझै बढ्दै जाने भएकाले सचेतना अपनाउन निर्देशक पौडेलले अनुरोध गरेका छन् ।
पानी जमेका खाल्डाखुल्डी पुर्ने र डेंगु संक्रमण फैलाउने लामखुट्टेका लार्भा खोजी गरेर नष्ट गर्ने काम नगरपालिकाले गरिसकेको छ । डेंगु संक्रमण कसरी हुन्छ र यसबाट बच्न के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने जानकारी पनि नगरवासीहरूलाई माइकिङमार्फत दिइएको नगर प्रमुख उपेन्द्र कार्कीले बताए ।
नगरपालिकाको मुलपानीस्थित नगर अस्पतालमा नेपाल सरकारले प्रदान गर्ने डेंगु संक्रमणको निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको प्रमुख कार्कीले जानकारी दिए ।
प्रमुख कार्कीकाअनुसार डेंगु नियन्त्रणका लागि नगर अस्पतालबाट चौबिसै घण्टा सेवा प्रदान गर्नुका साथै नगरपालिकाले आवश्यक किट, औषधी, बिशेषज्ञ डाक्टरहरुलाई तयारी अवस्थामा राखेको छ । डेंगु संक्रमणका बिरामीलाई भर्ना गरेर उपचार प्रदान गर्दै आएको नगर अस्पतालले जटिल र गम्भीर प्रकृतिका बिरामीलाई रिफरसमेत गर्ने गरेको छ ।
नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखा परेको थियो । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन् । मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बाग्मती प्रदेशमा देखिएका छन् ।
डेंगु कसरी सर्छ ?
– डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ । डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ ।
– यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन ।
– डेंगु सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ ।
डेंगु सार्ने एडिस जातको लामखुट्टे कहाँ पाइन्छ ?
यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्छ । यसले स–साना पानी जमेका स्थानमा फूल पार्छ । विशेषतः टिनका डब्बा, थोत्रा टायर, खाली ड्रम, फूलदानी, गमला, पानीको ट्यांङ्की, दहीका बट्टा आदि जस्ता वर्षात्को पानी जम्ने भाडाकुँडाहरुमा यसले फूल पार्छ । सहरी क्षत्रमा यस्ता वस्तुहरु पर्याप्त मात्रामा हुने हुँदा पनि यो लामखुट्टे सहरी क्षेत्रमा बढी पाइन्छ । एडिस कालो रङमा सेता थोप्ला रहेको तथा टाटे–पाटे हुन्छ । यसले खासगरी दिउँसो टोक्ने गर्छ । धेरै दिनसम्म स्थिर रहेको सफा पानीमा फूल पार्छ ।
डेंगुका लक्षण केके हुन्छन् ?– उच्च ज्वरो
– कडा खालको टाउको दुखाइ हुने
– आँखाको गेडी पछाडि दुख्ने
– मांसपेसीको दुखाइ
– वाकवाक लाग्ने र वान्ता हुने
– शरीरमा राता खालका बिमिरा देखिने
– कडा खालको डेंगुमा विभिन्न जटिलताका लक्षण देखिन्छन् र उपचार नभएमा बेहोस भई मृत्यु समेत हुन सक्छ ।
धेरै संक्रमित व्यक्तिहरुमा लक्षणहरु नदेखिई रोग आफैं निको भएर जान्छ तथा अन्य केहीलाई सामान्य रुघा लागेको जस्तो ज्वरोका लक्षणहरु मात्र देखिन्छन् । सामान्यतया लामखुट्टेले टोकेको ३ देखि १४ दिनभित्र रोगका लक्षणहरु देखा पर्छन् ।
डेंगुको व्यवस्थापन कसरी गरिन्छ ?
– डेंगु विशेषको कुनै पनि खास औषधि छैन, तर चाँडो पत्ता लगाउने र उपयुक्त व्यवस्थापनको भएमा मृत्युदरमा न्यून हुन्छ ।
– डेंगु ज्वरो धरैजसो आफैं निको हुन्छ । स्वास्थ्य संस्थाहरुमा लक्षणका आधारमा उपचार गरिन्छ । यस्तोमा ज्वरो र दुखाइ कम गर्ने सिटामोल प्रयोग गनुपर्र्छ तर एस्पिरिन, बु्रफेनका जस्ता औषधिहरुको प्रयोग गर्नु हुँदैन । प्रशस्त झोल खाद्य पदार्थ खाने र आराम गर्नाले सन्चो हुन सजिलो हुन्छ । तर रोगको जटिलता बढेमा अस्पतालमा भर्ना भई चिकित्सकको सल्लाह बमोजिम उपचार गराउनु पर्छ ।
– कडा डेंगुको सावधानीका उपचारका र उपयुक्त व्यवस्थापन आवश्यक हुन्छ । समयमै उपचार हुनसके रोग निको हुन सक्छ र मृत्यूदर १ प्रतिशतभन्दा कम हुन्छ ।
डेंगुको रोकथामका उपाय केके छन् ?
– डेंगु विरुद्घको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो ।
– लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्ने
– वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने
– जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने
– पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्नेे
– डेंगुका बारेमा जनचेतना अभिवृद्घि गरी सक्रिय जनसहभागिता र संलग्नतामा लामखुट्टेको बासस्थान र ब्रिडिंग स्थान नष्ट गर्ने र दिगो नियन्त्रणका उपायहरु अवलम्बन गर्र्ने
– लामखुट्टेको टोकाइबाट बच्ने
– काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा जालीको प्रयोग गर्ने
– झुलको प्रयोग गर्ने
– झ्याल–ढोका जस्ता प्रवेशद्वारमा लामखुट्टे भगाउने उपकरणहरु राख्ने
– शरीरका अंग ढाक्ने खुकुला कपडा लगाउने
– शरीरमा लामखुट्टे भगाउने मल्हमहरुको प्रयोग गर्ने
– डेंगु प्रभावित क्षेत्रमा भ्रमण गर्दा लामखुट्टेको टोकाइबाट बच्न विषेश ध्यान दिनु पर्छ ।
– स्कुल, अस्पताल र कार्यक्षेत्र जस्ता मानिस र लामखुट्टेको बढी सम्पर्क हुने स्थानहरुमा नियन्त्रणका उपायहरु प्राथमिकता दिने ।