Hamro Sanchar

आजदेखि काठमाडौंमा एपीएफ–एसएसबीको आठौँ समन्वयात्मक बैठक हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १ गते


Advertisement

काठमाडौं । आजदेखि काठमाण्डौमा ‘एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन बैठक हुन लागेको हो ।

सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा भोलिसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रूपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ ।

बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ ।

बैठकमा सहभागी हुन सशस्त्र सीमा बलका महानिर्देशकसहितको प्रतिनिधिमण्डल हिजो नै काठमाण्डौ आएको छ । समन्वयात्मक बैठक हरेक वर्ष आयोजना हुँदै आएको छ । यसअघि बैठक भारतमा भएको थियो । अबदेखि भने वर्षमा दुई पटक बैठक राख्ने प्रस्ताव पेस हुँदैछ ।


प्रतिकृया दिनुहोस्