
काठमाडौं, असोज १९- प्रधानमन्त्री पुष्पकमल दाहाल बझाङ पुगेका छन् । भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि उनी नेपाली सेनाको
हेलिकोप्टरमार्फत बझाङ पुगेका हुन् ।
प्रधानमन्त्रीको टोलीमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र जिल्लाका सांसदहरू समेत सहभागी छन् । प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित केही क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तरक्रिया र पीडितहरुलाई राहत हस्तान्तरणको कार्यक्रम पनि रहेको बताइएको छ ।
गत मंगलबार गएको भूकम्पले बझाङमा एक जनाको मृत्यु भएको थियो भने दर्जनौं मानिस घाइते भएका छन् । भूकम्पले थुप्रै घर र केही विद्यालय भवन पनि भत्किएका छन् । यसैबीच, मंगलबार ६ दशमलव ३ रेक्टरको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १० बजेर ५२ मिनेटमा चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन र १२ बजेर २३ मिनेटमा चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको परकम्प गएको छ ।