
काठमाडौं, असोज ९- श्री बौद्धनाथ क्षेत्र विकास समितिले प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डे र ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक लेखनाथ मैनालीलाइ स्वागत गरेको छ ।
आइतबार श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यालयमा प्रतिनिधि सभा सदस्य एवम् अर्थ समितिका सभापति माननीय सन्तोष चालिसे, श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङ, सदस्यहरु रग्वा शेर्पा, जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा, सैलेश श्रेष्ठ,सुरज रुम्बा लगायतले स्वागत गरेका हुन् ।
स्वागत तथा परिचयात्मक नाम दिइएको उक्त कार्यक्रममा भर्खरै सरुवा भएर बौद्ध आएका प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डे र ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक लेखनाथ मैनालीलाइ खादा लगाएर स्वागत गरिएको थियो ।
प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डेले स्वागतको लागि धन्यबाद दिदै समाजमा बस्ने हरेक व्यक्ति वर्दी बिनाको प्रहरी भएको बताए । समग्र समाजमा सद्भाव र शान्ति कायम गर्न अपराध नियन्त्रण गर्न जति नेपाल प्रहरीको भूमिका छ, त्यो भन्दा बढी समाजमा बस्ने नागरिकको पनि त्यति नै दायित्व हुने हुँदा प्रहरी र नागरिक बिचको सुमधुर सम्बन्धलाई अझै मजबुत बनाउन अपरिहार्य रहेको उनको धारणा थियो । शान्ति सुरक्षा कायम गरि अपराध नियन्त्रणका लागि सबै पक्ष संग सहकार्य गर्दै आघि बढ्ने उनले बताए।
त्यसैगरि ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक लेखनाथ मैनालीले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनका लागि थप काम गर्ने योजना रहेको बताउदै त्यसमा सबैको सहयोग आवश्यक रहेको बताएका थिए । प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डे र ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक लेखनाथ मैनालीलाइ स्वागत गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले शान्ति सुरक्षा, अपराध न्यूनीकरण ट्राफिक व्यवस्थापन लगायतको कार्यमा श्री बौद्धनाथ क्षेत्र विकास समितिले प्रहरी संग समन्वय र सहकार्य गर्दै जाने बताएका थिए ।