Hamro Sanchar

सांसदहरू सिंहदरबार छिर्न नसक्दा दुई समितिका बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ४ गते


काठमाडौं, असोज ४-नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सवारी आउजाउ प्रभावित भएपछि सांसदहरु समयमै सिंहदरबार पुग्न नसक्दा दुई समितिका बैठक स्थगित भएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत आजका लागि निर्धारित अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बैठक स्थगित भएका हुन् । आज बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएका हुन् । अर्थसमिति सभापति सन्तोष चालिसेले गणपूरक संख्या नपुगेर बैठक स्थगित गरिएको जानकारी बताए ।

कतिपय सांसद जिल्ला बाहिर पनि रहेकाले सबैको समय मिलाएर छिट्टै अर्को बैठक बोलाइने उनको भनाइ छ । अर्थ समितिको आजको बैठकमा समितिको कार्यविधि मस्यौदा र विविध विषयमाथिको छलफल गर्ने कार्यसूची थियो ।

समितिमा कुल २४ जना सांसद रहेकामा गणपूरक संख्याका लागि १३ जना सांसद हुनुपर्ने भए पनि ११ जना सांसद मात्र बैठकमा उपस्थित भएका थिए । प्रतिनिधिसभा नियमावलीअनुसार आधा घन्टासम्म गणपूरक संख्या नपुगेमा बैठक स्थगित गर्ने व्यवस्था छ ।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि गणपूरक संख्या नपुगेका कारण स्थगित भएको छ । समितिमा २७ सदस्य रहेकामा बैठक बस्न १४ सांसद उपस्थित हुनुपर्नेमा १२ जना मात्र उपस्थित थिए ।


प्रतिकृया दिनुहोस्