Skip

Hamro Sanchar

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १८ गते


काठमाडौं, भदौ १८–रुकुमपश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–६ घर्तीकाडाका १० वर्षीया मनोज बुढाथोकी र उनकी ६ वर्षकी बहिनी भावनालाई आइतबार अपराह्न विद्यालयबाट फर्किँदै गर्दा खोलाले बगाएको हो ।

रतन बुढाथोकीका छोराछोरीलाई घर नजिकैको खोलाले बगाएको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बताए । ‘हिजो अपराह्न ४ बजेतिर ठूलो हावाहुरीसहित पानी परेको थियो । स्कुलबाट निस्कँदा पनि पानी परिरहेकै थियो भन्ने सुन्नमा आएको छ,’ नगर प्रमुख पुष्पले भने । हावाहुरीले चौरजहारी नगरपालिकाका अधिकांश वडामा क्षति पुर्‍याएको उनले बताए । घरका छाना उडाउनुका साथै भित्र्याउने बेला भएको मकै, तिल आदि बालीमा पनि व्यापक क्षति पुर्‍याएको थियो ।

हावाहुरीसहित पानी पर्न थालेपछि शिक्षकले दाजु, बहिनीलाई एकछिन पर्खन भनेका थिए । विद्यालयबाट निस्कँदा मध्यम वर्षा भए पनि खोलाको डर नभएकाले उनीहरू घर हिँडेको वडा नम्बर ६ का सदस्य विरेन्द्र बोहोराले जानकारी दिए ।

चौरजहारी क्षेत्रमा पछिल्लो २४ घन्टामा ४४.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।

 


प्रतिकृया दिनुहोस्