
सुनसरी, भदौ ८- सुनसरीको धरानमा आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेकी हुन् ।
‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, न्याती/ भेलाजम्मा/ प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, उक्त सूचनामा उल्लेख छ ।
धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र न.पा. १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी न.पा. ६ नं. बाट बराह क्षेत्र न.पा. वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएकाे हाे ।


















