काठमाडौं, भदौ १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको श्री आनन्द भैरव माध्यमिक विद्यालयमा स्मार्ट कक्षाको उद्घाटन गरिएको छ ।
विद्यार्थीलाई प्रविधिको प्रयोग गरी स्मार्ट बोर्डमार्फत अध्ययन गराउन नगरपालिका नगरप्रमुख उपेन्द्र कार्कीले स्मार्ट कक्षाको उद्घाटन गरेका हुन् । स्मार्ट कक्षाको उद्घाटन गर्दै नगरप्रमुख कार्कीले शिक्षा र स्वास्थ्यलाई नगरले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । उनले नगरका अन्य विद्यालयमा पनि क्रमैसँग युग सुहाउँदो र समय सापेक्षा हुने गरी स्मार्ट कक्षा सञ्चालन गर्ने बताए । नगरले समग्र बजेटको १८ प्रतिशत रकम शिक्षामा छुट्याएको जानकारी दिँदै यस बर्ष समग्र गुणस्तरीय शिक्षाका लागि संस्कार ल्याव संचालन गरिने बताए ।
स्मार्ट कक्षा संचालन गर्न वडाले शिक्षामा छुट्याएको बजेटमार्फत कक्षा १० का विद्यार्थीलाई लक्षित गरि २ थान स्मार्ट बोर्ड प्रदान गरेको विद्यालयका प्रधानाध्यापक सरस्वती थापा कार्कीले जानकारी दिइन् । प्रधानाध्यापक कार्कीकाअनुसार कक्षा १० मा सेक्सन ‘ए र बी’मा गरी ९० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
स्मार्ट बोर्डको प्रयोगबाट पढाउँदा सिकाइ दिगो, समयको बचत र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक कार्कीले बताइन् । उनकाअनुसार यस्तो बोर्डको प्रयोग सबैको स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ ।
कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष भीमसेन थापाले आधुनिक प्रविधीबाट शिक्षण सिकाई कार्य प्रभावकारी हुने, यसले शिक्षक र विद्यार्थीमा पनि उत्साह थपिने विश्वास व्यक्त गरे । उनले स्मार्ट बोर्डको प्रयोगले विद्यार्थीलाई स्मार्ट हुन थप सहयोग पुग्ने बताए ।
शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘स्मार्ट बोर्ड’ प्रयोगमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर थापाले बताए । विद्यालयमा अधिकांश विद्यार्थी निम्न आर्थिक अवस्था भएका र काठमाडौं बाहिरका अध्ययन गर्न आउने भएकाले यस्ता विद्यार्थीलाई नयाँ युगसँगै प्रविधिमैत्री बनाउन विद्यालय लागि परेको बताए ।
स्मार्ट बोर्डमार्फत् तालिम प्राप्त शिक्षक शिक्षिकाबाट शिक्षण सिकाइ हुने भएपछि विद्यार्थीहरू उत्साहित भएका छन् ।
कार्यक्रममा विद्यालयका नवनिर्मित थप कक्षा कोठाहरु पनि उद्घाटन गरिएको थियो ।