Hamro Sanchar

इटलीमा डुङ्गा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २४ गते


Advertisement

एजेन्सी, साउन २४- इटलीको द्विप लेन्पेडुसा नजिकै एउटा डुङ्गा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु भएको छ ।

दुर्घटनामा बाँचेका चार जनाले स्थानीय मिडियासँग घटनाबारे कुराकानी गरेका छन् । दुर्घटनामा ज्यान जोगाएका प्रवासीले उद्धारकर्मीसँगको संवादमा उनीहरू ट्युनिसियाबाट इटली जान लागेको बताए ।

यी चारै आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् र बुधवार उनीहरू लेन्पेडुसा पुगे । उनीहरूका अनुसार स्फेक्स पोर्ट सिटीबाट ४५ जना डुङ्गामा सवार भए तर केही घण्टापछि नै उनीहरू चढेको डुङ्गा डुब्यो । त्यहाँबाट यात्रा गरिरहेको एउटा कार्गो सिपले उनीहरूलाई बचाएको र इटलीको कोस्ट गार्डलाई सुम्पिएको बताए ।

कोस्ट गार्डका अनुसार आइतबार यो इलाकामा दुई वटा डुङ्गा डुबेका थिए तर यी बाँचेका मानिस कुन डुङ्गाका हुन् भन्ने स्पष्ट जानकारी छैन । उत्तरी अफ्रिकाबाट युरोप जानका लागि समुद्र पार गर्ने कोसिसमा यस वर्ष हालसम्म १८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

ट्युनिसिया प्रशासनका अनुसार लेन्पेडुसाबाट १३० किलोमिटर टाढा ट्युनिसियाको स्फेक्स पोर्ट सिटी प्रवासीलाई गैर कानुनी तरिकाले लैजाने एक प्रमुख स्थान हो ।

हालैका दिनमा इटालीको निगरानी डुङ्गा र समाजसेवी संस्थाले लेन्डुसा पुग्ने २०० जनाको ज्यान जोगाएका छन् ।


प्रतिकृया दिनुहोस्