Skip

Hamro Sanchar

सरकार सुशासनका पक्षमा दृढताका साथ अघि बढेको छ : मन्त्री शर्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ११ गते


काठमाडौँ, साउन ११- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छिन् ।

सफ्टेरिका कलेजले यहाँ आज आयोजना गरेको ‘टेक–एक्स २०२३’ उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले भ्रष्टाचारविरुद्ध सरकारले अभियान नै सञ्चालन गरेको स्पष्ट पारिन् । केही राम्रा काम गरेर आमजनता र युवामा सकारात्मक सन्देश दिने लक्ष्यका साथ सरकार अघि बढेको उनको भनाइ छ ।

वर्तमान अवस्थामा देखा परेका समस्या समाधानका साथै आगामी दिनमा उत्पन्न हुनसक्ने असहजपरिस्थितीको सामना गर्नका लागि सूचना तथा प्रविधिको सही प्रयोग आवश्यक भएको उनले बताइन् । उनले भनिन्, “संसार सूचना तथा प्रविधिको विकासमा अगाडि बढिसकेको छ, पछिल्लो समयमा गुणात्मक प्रगति भएको क्षेत्र यो मात्रै हो ।”

नेपालमा पनि पछिल्लो दशकमा अन्य क्षेत्रको तुलनामा सूचना तथा सञ्चार प्रविधिमा उल्लेख्य प्रगति भएको भन्दै मन्त्री शर्माले सरकारले पनि यसको आवश्यकता महसुस गरी विभिन्न क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाएको उल्लेख गरिन् । उनले मानवीय जीवनको बहुआयामिक पक्षमा सूचना प्रविधिले महत्वपूर्ण प्रभाव पारेको बताइन् ।

सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा गइसकेको बताउँदै उनले कुल पुँजीगत खर्चको एक प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्ने बताइन् ।

विसं २०७६ देखि अगाडि बढाइएको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममार्फत कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाइएको उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्